दाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सरकारी गाडीमा तोडफोड



बुटवल असोज १६ ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ।

बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ। बुटवलमा सरकारी गाडीमा पनि तोडफोड भएको छ। प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले प्रदर्शन गर्दै बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।

सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडीमा तोडफोड भएको छ। नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेविसंघले आन्दोलन सुरु गरेको बताए।रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्।प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए।

मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस्