नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने



काठमाडौं असोज १५ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ ।

महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको अध्यक्षका उम्मेदवार समेत रहेका ढकालले बताए। नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधको आदेशलगायतबाट हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्