दशैँको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा



काठमाडौं असोज १५ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीका लगायतको साइत सार्वजनिक गरेको छ ।

यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् ।

समितिका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको छ । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ बजेर ४६ मिनेटको साइत निस्किएको समितिले जनाएको छ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ। फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन। कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १० बजेर ११ मिनेटको साइत शुभ रहेको समितिले जनाएकोछ । साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १० बजेर १९ मिनेटको साइत उत्तम छ।

प्रतिक्रिया दिनुहोस्