दोलखामा शैक्षिक संस्था बन्द गर्न निर्देशन



दोलखा,असोज १५ । दोलखा जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहिवारदेखि  शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न  निर्देशन गरेको छ । त्यस्तै जिल्लामा हुने सबै प्रकारका सभा, गोष्ठी, तालीम र  सेमिनार समेत बन्द गर्न बैठकले निर्णय गरेको छ ।

संकट व्यवस्थापन केन्द्रले कोरोना सङ्क्रमित क्षेत्रबाट दोलखा प्रवेश गर्नेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ  । प्रमुख जिल्ला अधिकारी  एवं  केन्द्रका अध्यक्ष  रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा  सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए ।

बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र  सभाजुलूस गर्न गराउन निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्