सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने वरिष्ठ नेता पौडेलको चेतावनी



काठमाडौं असोज १५ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् ।

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र केही मन्त्रालय फुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल भइरहेको कुरा बाहिरिपछि नेता पौडेलले विहीबार सो चेतावनी दिएका हुन्। नेकपामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाएर दुईवटा अलग मन्त्रालय बनाइने विषयमा छलफल भएको बुझिएको छ ।

यसबारे पौडेलले ट्वीटरमा लेखेका छन्, ‘कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भइसकेको छ। जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।’

उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको बताए । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ । हाल नेपालमा प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छन् । त्यसलाई बढाएर २५ बनाउन लागेको चर्चासँगै विरोध पनि सुरू भएको हो ।

मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्