रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन
काठमाडौं असोज १५ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार गजुर प्रतिस्थापन गरिएको छ ।
प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा बिहीबार सुनको लेपन भएको गजुर राखिएको हो । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताए ।
२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेपछि काम सुरु भएको थियो ।