चकलेट र ट्याङ्गको गोदाममा प्रहरीको छापा, दुई व्यापारी पक्राउ



काठमाडौँ असोज १५ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको छ ।

म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए । प्रहरीले गोदामका सञ्चालक भारतीय नागरिक रौनक गोत्रा र आईएन डिस्ट्रिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई पक्राउ गरेको छ ।

आईएन डिस्ट्रिब्युटर्समा लगानी गोत्राको भए पनि अग्रवालको नाम व्यवसाय दर्ता भएको पाइएको छ । गोत्रा कलंकी र अग्रवाल पुतलीसडकबाट पक्राउ परेका हुन् ।अहिले प्रहरी टोली घर सामानको विवरण संकलन गरिरहेको छ ।

महाशाखाका अनुसार ५ वटा कोठामा म्याद नाघेका स्निकर ब्रान्डको चकलेट, ओरियो ब्रान्डको बिस्कुट, ट्याङ्ग जुस पाउडर राखिएको पाइएको छ । म्याद नाघेको सामान नक्कली स्टिकर बनाएर नयाँ मिति राख्नलाई गोदामभित्रै ५ जना मजदुरलाई काम लगाइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्