कोरोनाबाट बाँकेमा थप २ जनाको मृत्यु



नेपालगन्ज असोज १५ । राँझा–बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण बिहीबार बिहान थप दुईको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचाररत लक्षणसहितका ११२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशन वार्डमा रहेका बिरामीमध्ये २१ जनाको अवस्था गम्भीर छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोभिड विशेष वार्ड सञ्चालनमा छन् । ती वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ । आठ सघन उपचार कक्षसहित ७२ शय्या क्षमता रहेको भेरीको कोभिड आइसोलेशन वार्डमा अहिले ६० बिरामी उपचाररत छन् । तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । सैँतीज जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

सय शय्या क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ बिरामी उपचाररत छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर तथा पाँच जनाको मध्य र ४४ जनाको सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्