बाबरी मस्जिदका सबै ३२ अभियुक्तलाई सफाइ



एजेन्सी असोज १४ ।

बाबरी मस्जिद बिध्वंश मुद्दामा भारतको सीबीआईको विशेष अदालतले सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशले आज फैसला सुनाउँदै ठोस प्रमाण नपाइएका कारण सबैलाई सफाइ दिइएको बताएका हुन् । बिध्वंश सुनियोजित नरहेको फैसला सुनाउने क्रममा उनले बताएका छन् । विशेष अदालतले सेप्टेम्बर २ मा सुनुवाई पूरा गरेको थियो । बाबरी मस्जिद मुद्दामा पहिले ४९ जना अभियुक्त रहेका थिए । त्यसमध्ये १७ जनाको मृत्यु भइसकेको छ । बाबरी मस्जिद सन् १९९२ को डिसेम्बर ६ मा ध्वस्त पारिएको थियो ।

घटनाको २८ वर्षपछि फैसला भएको हो । अभियुक्तमा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र उमा भारती सहितका रहेका थिए । सबैले सफाइ पाएका छन् । लखनउ स्थित सीबीआईको विशेष अदालतले आज फैसला सुनाएको हो । फैसलालाई लिएर सम्भावित घटना नियन्त्रणका लागि लखनउको सुरक्षा व्यवस्था कडा पारिएको छ । बाबरी मस्जिद ध्वस्त भएपछि हिंसा भड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्