कोरोना महामारीका कारण बन्द नेपाल–भारत हवाई उडान फेरि सुरु गर्ने तयारी



काठमाडौं असोज १४ ।

कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल–भारत हवाई उडान फेरि सुरु गर्ने तयारी भएको छ ।

भारतले नियमित उडान सुरु गरिसकेको छैन । तर पनि दुई देशका नागरिक र अन्य निश्चित निकायका व्यक्ति मात्रै बोक्न पाउने गरी दुई देशबीच उडान सुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतको प्रस्तावअनुसार दुई देशका एअरलाइन्सले पहिलेको भन्दा निकै थोरै सङ्ख्यामा उडान गर्ने र उडानमा नेपाल र भारतका नागरिक, कुटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि तथा विकास साझेदार नियोगका कर्मचारीले मात्रै उडान गर्न पाउनेछन् । यसलाई हवाई उड्डयनको भाषामा ‘एअर बबल ट्राभल’ भनिन्छ ।

भारतले पठाएको ‘एअर बबल ट्राभल’ को प्रस्तावमा मन्त्रालयमा छलफल भइसकेको र यो प्रस्ताव सम्भवतः आजै मन्त्रिपरिषदमा दर्ता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले पारित गरेपछि नेपाल–भारत बीच हुने उडानको जहाज र उडान सङ्ख्याको टुङ्गो लाग्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले भारतले उडानको लागि प्रस्ताव पठाएको जानकारी दिँदै छिट्टै उडान सुरु हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्