मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाडौंबाट पक्राउ



काठमाडौं असोज १४ । मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाण्डौबाट पक्राउ परेका छन् ।

मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठले दाङका मध्म रैदासलाई अपहरण गरी श्रीमतीसँग पैसा असुलेको र अहिलेसम्म पनि बन्धकजस्तै बनाएर राखेको भन्ने उजुरीको आधारमा उनलाई मंगलबार काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

४४ वर्षका डेभिड भनिने दुर्गाबहादुरले मलेसियामा कार्यरत मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई नेपालमा श्रीमतीलाई विभिन्न नम्बरबाट फोन गरी ६० हजार मलेसियन रिंगिट नहालिदिए ज्यान मार्ने मार्ने धम्की दिएका थिए ।

विभिन्न नम्बरबाट आउने फोनमा रैदासकी श्रीमतीलाई दुर्गाबहादुरको नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन रिंगिट ६० हजार हालेमा मात्र छाडिदिने नत्र मारिदिने धम्की दिएपछि परिवारले फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा विभिन्न समयमा हालिदिएको थियो ।

रकम खातामा हालिदिएपछि मात्रै रैदासलाई दुर्गाबहादुरले छाडिदिएका थिए । तर पासपोर्ट आफ्नै साथमा राखेर दुर्गाबहादुरले रैदासलाई अहिलेसम्म पनि नेपाल आउन नदिएर अघोषित रुपमा बन्धकजस्तै बनाएको राखेको भन्दै उहाँकी श्रीमतीले सीआईबीमा निवेदन दिएका थिए ।

दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनलाई जिपमा चढेर बाँसबारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा कान्ति बाल अस्पताल नजिकै सडकबाट पक्राउ गरी थप अनुसान्धान थालिएको सीआईबीले जनाएको छ ।

दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका सोझा नेपालीलाई धम्काएर रकम असुल्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको बुझिन आएको पनि सीआईबीले जनाएको छ । उनले अन्य व्यक्तिलाईसमेत रैदासलाई जस्तै व्यवहार गरेको हुन सक्ने देखिएकाले अनुसन्धान भइरहेको सीआईबीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्