नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको सकस



काठमाडौं असोज १३ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बनेको छ ।

मन्त्रिपरिषदबाट कसलाई विदा गर्ने र कसलाई भित्र्याउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ भैरहेको छ ।

सहमतिको प्रयासका लागि अध्यक्षद्वय ओली र दाहाल केही दिन यता निरन्तर छलफलमा जुटिरहनुभएको छ । दुई अध्यक्षबीच आज पनि बालुवाटारमा छलफल भइरहेको छ । आजको छलफल मन्त्रिमण्डलको संख्या र भागवण्डाबारे निर्णायक हुने बताइएको छ ।

पटक पटकको वार्ताबाट दुवै अध्यक्षबीच सहमति हुन नसकेपछि आज फेरि वार्ता चलेको हो । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फुटाएर २५ बनाउने र त्यसमा दाहाललाई यसअघिको जत्तिकै ७ मन्त्रालय दिने प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, दाहालले कम्तिमा १० मन्त्रालयमा दाबी गरेका छन् ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षलाई पनि मिलाउनुपर्ने भन्दै ओलीले भागवण्डामा दाहाललाई यसअघि पाएकोभन्दा नबढाउने प्रस्ताव गर्नुभएको स्रोतको भनाइ छ ।

यसैगरी, मन्त्रिमण्डलमा दाहाल पक्षधरले विगतमा पाएको मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउनसक्ने प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको बताइएको छ । तर, दाहालले यसअघि आफ्नो भागवण्डामा पाएको मन्त्रालय कायमै हुनुपर्ने अडान राखेका छन् । मन्त्रिपरिषदमा कसलाई लैजाने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी छ ।

आजको छलफलमा पनि मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा एकिकारणका बाँकीलगायतका विषयमा छलफल केन्द्रीत हुने स्रोतले जनाएको छ । मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा अध्यक्षद्वय गत बिहीबारदेखि लगातार छलफलमा रहेका छन् ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो । त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्