पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने



काठमाडौं असोज ११

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा फरक ढंगले जाने संकेत देखाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उनको समूहलाई समेत सहभागी गराउन खोजेको अवस्थामा नेता सिटौला भने आफू छुट्टै ढंगले जान लागेका हुन् ।

नेता सिटौलाले पछिल्लो समय आगामी महाधिवेशनका लागि देखिएको समस्या समाधानको लागि पार्टीको शीर्ष नेतृत्वसँग छलफल बढाएका छन् । शनिवार नेता सिटौलाले आफू निकट नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी लगायतका नेताहरुसँग आगामी महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए ।

आगामी कांग्रेसको अन्य सबै गुट एक भएर लढ्ने तयारी गरिरहे पनि सिटौला समूह भने आफूले पौडेल, महामन्त्री डा शशांक कोइराला लगायत समूहभन्दा बाहिरै रहेर फरक धारबाट जाने तयारीमा लागेको बुझिएको छ । आगामी महाधिवेशनबारे छलफलका लागि नेता सिटौलाले हिजो साँझ पार्टी सभापति देउवा र आइतवार बिहान वरिष्ठ नेता पौडेलसँग भेटघाट गरेका थिए ।

वरिष्ठ नेता पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने निर्णय गरेपनि आफूहरु उक्त भेलामा सहभागी नहुनेसमेत जनाएका छन् । पार्टी नेतृत्वले गरेका विधान विपरितका क्रियाकलापमा एकताबद्ध भएर लाग्ने भएतापनि पोडेल समूहको मोर्चाबन्दीमा सहभागी हुन नसक्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्