हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन



काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

केही दिन अघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा दिने निर्णय गरेको थियो । राष्ट्रिय ध्वजाबाहकको आम्दानी गुम्ने भन्दै चौतर्फी विरोध भएसँगै निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीसँग त्रिभुवन विमानस्थलमा हिमालयलले प्राप्त गरेको ग्राउण्ड ह्याण्डिलिङ सुविधा बारे छलफल गरेका थिए ।

छलफलका क्रममा यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजान र हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए÷नभएको अध्ययन गर्न निर्देशन दिएको बताइएको छ ।

मन्त्री भट्टराईले भने राष्ट्रिय महत्व राख्ने विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग समेत सल्लाह र सुझाव लिन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्