नेकपा सिन्धुपाल्चोकद्वारा प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन



सिन्धुपाल्चोक असोज ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ ।

नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदनसमेत निर्माण गरेको हो । सोही प्रतिवेदनउपर पार्टीका शीर्ष नेता, जिल्ला तहका नेता तथा जनप्रतिनिधिबीच शनिबार सुकुटेमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।

सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनिधिबीच छलफल गरेको छ । नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरणका लागि जिल्लास्तरीय कार्यदल नै गठन गरी नेताहरुलाई बाढीपहिरोग्रस्त क्षेत्रमा खटाएको थियो । सात सदस्यीय कार्यदलले बाढीपहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तक्र्रिया गरी सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ ।

जिल्लाका जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरणका लागि वैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए ।

शनिबारको अन्तक्र्रियात्मक कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनिधिसभा ससदस्य एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका मन्त्री अरुण नेपाल, युवराज दुलाल, प्रदेशसभा सदस्य सरेश नेपाललगायत नेकपाका स्थानीय जनप्रतिनिधि र पार्टी नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्