आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न कांग्रेसको माग
काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धमा सरकारले गरेका पछिल्ला निर्णयप्रति आफ्नो ध्यानाकृष्ट भएको भन्दै आउँदो असोज २४ मै निर्वाचन गराउन माग गरेका हुन् । २०७७ साल असोज २४ मै निर्वाचन गर्न गराउन सरकार क्रियाशील हुनुपर्नेमा सो नगरी विभिन्न बाहाना देखाएर निर्वाचन टार्ने सरकारको रबैयाले लोकतन्त्रलाई नै असर गर्ने डा. कोइरालाको भनाई छ ।
उनले राजनीतिक दल, तिनका भातृ संगठन र यस्ता आधिकारिक ट्रेड युनियनका नियमित अधिवेशन र निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै निर्वाचनले नै लोकतन्त्र बचाइराख्ने समेत जिकिर गरेका छन् । आउँदो असोज २४ गते निर्वाचन गर्ने तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरिसकेको छ ।