चालु आर्थिक वर्षको दुई महिनामा आयात २२ प्रतिशतले घट्यो



काठमाडौं असोज ९ ।

चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दुई महिनामै वस्तु आयातमा भारी गिरावट आएको छ ।

भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा समेत आयात भने पहिलो महिनाबाटै ओरालो लागेको थियो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको तथ्यांकले देखाएको छ ।

साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०।४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४।९३ प्रतिशतको गिरावट आएको हो । यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ ।

अघिल्लो आवमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँको थियो । आयातमा भएको गिरावटले कुल वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ । दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ । दुई महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ । यो वर्ष निर्यातको हिस्सामा ३७.५० प्रतिशत सुधार भएको छ ।

प्रतिक्रिया दिनुहोस्