गुडिरहेको बस पहिरोले पुरियो, १ को मृत्यु, १७ जना घाइते



नवलपुर असोज ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा सडकमा गुडिरहेको बस पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ ।

पहिरामा परी १७ जना घाइते भएका छन् । गएराति विनयी त्रिवेणी गाउँपालिका वडा नं २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना. ५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिए ।

लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका वडा नं २५ वर्षीय हरिषचन्द केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी ११ जना सामान्य घाइते भएका र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्