अष्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्सको निधन



एजेन्सी असोज ८ ।

अष्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्सको निधन भएको छ ।

लिजेण्ड क्रिकेटर जोन्सको बिहीबार ५९ वर्षको उमेरमा निधन भएको आउटलुक इन्डियाले जनाएको छ । पूर्व प्रशिक्षक र क्रिकेट कमेन्टेटर समेत रहेका जोन्सको हृदयघातको कारण निधन भएको बताईएको छ ।

पूर्व ब्याट्सम्यान जोन्स १३ औं संकरणको आईपीएलको कमेन्ट्रीका लागि मुम्बईमा रहेका थिए । उनी स्टार स्पोर्ट्ससँग आबद्द रहेका थिए । मेलबर्नमा जन्मिएका जोन्सले अष्ट्रेलियाका लागि ५२ टेस्टमा ३ हजार ६ सय ३१ रन बनाएका थिए । यस्तै १ सय ६४ एकदिवसीयमा ६ हजार ६८ रन बनाएका थिए ।

जोन्सले अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक भएर काम गरिसकेका थिए । यस्तै पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक भएर समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्