कोरोनाबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री अंगडीको निधन



नयाँदिल्ली असोज ८ । कोरोना भाइरसको संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको निधन भएको छ ।

६५ वर्षीय अंगडीको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् । अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि उनलाई नरेन्द्र मोदी सरकारमा रेल राज्यमन्त्री बनाइएको थियो ।

यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्