कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक साढे ३० करोड घाटा



काठमाडौं असोज ७ ।

कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ३० करोड ५५ लाख रुपैयाँ घाटा लागेको छ ।

यो अवधिमा मन्दिर बन्द रहँदा घाटा व्यवहोर्नुपरेको कोषले जनाएको छ । कोषका कोषाध्यक्ष मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको कोषतर्फ ४६ करोड ५५ लाख एक हजार उठाउने लक्ष्य रहेकामा २५ करोड ७१ लाख ५२ हजार मात्रै उठेको छ । यसबाट कोषतर्फ २० करोड ८३ लाख ४९ हजार घाटा लागेको थापा बताउँछन् ।

मन्दिरतर्फ १५ करोड ७ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा ८ करोड २७ लाख ३७ हजार कम ३ करोड ७९ लाख ६३ हजार संकलन भयो । घाटतर्फ ३ करोड ८३ लाख १५ हजार लक्ष्य रहेकामा २ करोड ३८ लाख ४९ हजार रुपैयाँ मात्रै संकलन भयो । घाटातर्फ लक्ष्यभन्दा १ करोड ४४ लाख २१ हजार कम रकम संकलन भएको बताउँदै कोषाध्यक्ष थापाले समग्रमा कोषमा ३४ करोड ९० लाख ९ हजार रुपैयाँ संकलन भएको बताए ।

मन्दिरमा नित्य पूजा अहिले पनि नियमित भइरहेको छ । बिहान ८ देखि दिउँसो २ बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म नित्य पूजा भइरहेको छ । विश्वले नै कोरोनाको संकट सामाना गरिरहेकाले मन्दिरको आम्दानी घट्नु सामान्य भएको भन्दै यसलाई घाटाका रुपमा लिनुभन्दा पनि कोषले असहज परिस्तिथिको उपज भएको ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्