अत्यावश्यक परे मात्रै सार्वजनिक सवारी साधनको प्रयोग गर्न विभागको आग्रह
काठमाडौं असोज ७ ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै खाले लामा तथा छोटा दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
सार्वजनिक यातायातमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नै पर्ने भएपनि सुरक्षित रहेर मास्क, सेनिटाइजर प्रयोग गरेर मात्र यात्र गर्न भनेको छ ।
साथै, लामो दूरीको यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । सार्वजनिक होटल तथा खाजा घरहरुमा भिडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै विभागले यस्तो निर्देशन गरेको हो ।
खाजा, नास्ता खुवाउने होटल तथा रेष्टुरेन्टहरुलाई सुरक्षित रहि स्वस्थ खाना नास्ताको प्याकिङ्गको व्यवस्था गरिदिन समेत विभागले आग्रह गरेको छ ।