ओहो ‘सर’ त बित्नु भएछ !
सदियौं पहिलेदेखि चल्दै आएको गुरुकुल शिक्षामा गुरु शिष्य सामीप्यमा रही गुरुले शिष्यको सबै पक्षहरुको पहिचान गरी सोही बमोजिमको शिक्षा प्रदान गरिन्थ्यो । यसले गुरु र शिष्यको सम्बन्ध निकै राम्रो हुन्थ्यो । दुबैले एक अर्काको सबै पक्षको सुत्न अध्ययन गरी सोही बमोजिम गुरुचेलाबीच आत्मीय सम्बन्ध रहन्थ्यो । वर्षौ वर्षको सँगसँगैको बसाईपछि ती निपूर्ण शिष्य भएर आश्रमबाट बिदा लिन्थे । आश्रमबाट बिदा हुँदा हर्ष र रोदनका साथ बिदाई हुन्थ्यो । यस्तो थियो हाम्रो प्रारम्भिक शिक्षा प्रणाली । पछिल्लो समय आधुनिक शिक्षा प्रणालीमा निजामती कर्मचारीबाट शिक्षा र शिक्षकले के पायो ? यो विषय उठान गरेको हो । उठान गरेका विषयहरु सत्य अनुत्तरित, तथ्य विषयान्तर नगरियोस भनेर सम्वध्द पक्ष ज़िम्मेवार बनाउन मद्दत पुगोस भन्ने हेतुले यी प्रसंग प्रस्तुत गरिएको हो ।
१ . एउटा रमाइलो प्रसंग :- विज्ञान पढाउने सरले भन्नु हुन्थ्यो पृथ्वी गोलो छ घुम्छ । तर हामी सानो छँदा पत्याउदैनथ्यो । सधै दुविधामा हुन्थ्यौ ! पृथ्वी घुम्ने भए आज हामी नेपालमा छौ भने घुमेर अमेरिका पुग्न पर्छ्यौ नि ? अमेरिकाको मान्छे नेपाल आउनु पर्थ्यो नि ! त्यो हाम्रो बाल सुलभ र ज्ञान चेतनाको कमी थियो । गुरुहरुले कत्ती प्रयत्न गरेको बुझाउनु हुन्थ्यो तैपनि पत्याउनै गार्हो मान्थ्यौ । त्यती बेला म शिक्षकले पत्याउनै नसक्ने कुरा गर्न हुन्छ भन्ने बुझ्थे तर आज आएर थाहा भो कतिपय नबुझेको कुराहरु कति सत्य हुदा रहेछन । सम्झदा पनि लाज लागेर आउछ । अपरिपक्वताले शंका जगाउने परिपक्वतापश्चात् सही कुराले आत्मग्लानी हुँदोरहेछ । गुरु चेलाको यस्तो प्रक्रियाबाट चलेको हो हाम्रो शिक्षा ।
२ . कस्तो सम्मान :- विश्वका कतिपय विकसित मुलुकका राजनेताहरुले शिक्षा र शिक्षकलाई गरेको सम्मानले छाती गर्विलो भएर आउँछ । हर्षका आँसु झर्छन खबर सुनेर मात्रै पनि । पछिल्लो पटक कोरोना कोभिड-१९ को सुई रसियाले पत्ता लाग्यो भनेर खवर बाहिरिँदा रसियाका सरकार प्रमुख भ्लादिमिर पुटिनलाई एक पत्रकारले यो सुई सबै भन्दा पहिला कसलाई प्रयोग गर्नुहुन्छ भनेर सोध्दा उहाँले यो सुई सबै भन्दा पहिला शिक्षकलाई त्यसपछि डाक्टरलाई भन्नु भयो । त्यहाँ शिक्षकलाई कत्रो सम्मान रहेछ यो भनाईले पुष्टि गरेन र ? नेपाली शिक्षकले त्यती खोजेको हैन ? यो पनि बुझे हुन्छ !
३. विशाल ह्रृदय :- मुलुकका सबै नै प्रधानमन्त्री, मन्त्री, सचिव, प्राध्यापक, शिक्षक, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, इन्जीनियर, राजदूत, राजनीतिज्ञ, पुरातत्वविद्, वैज्ञानिक, न्यायधिस, वकील, कर्मचारी, सेना, प्रहरी, गुप्तचर, व्यापारी, पर्यटन व्यवसायी, संचारकर्मी, साहित्यकार, लेखक, गायक, दार्शनिक, फिल्म निर्माता, नायक नायिका, अनुसन्धानकर्ता जस्ता यी सबै प्राथमिक शिक्षकदेखि विश्वविद्यालयका प्राध्यापकका उपज हुन् । यी सबै आ-आफ्ना क्षेत्रमा दख्खल भएपछि यिनीहरुका प्रशंसा गरिन्छ । ती विद्यार्थीहरुको प्रशंसा सुन्दा, पढ्दा एउटा शिक्षकको आँखाबाट खुसीको आँसु तरक्क चुइन्छ । गोजीको रुमालले खुसीको आँसु कसैले नदेख्ने गरी पुछ्नु हुन्छ । त्यो खुसीको आँसुमा त्यो शिक्षकको कुनै स्वार्थ हुँदैन । त्यहाँ स्वार्थ छ भने मेरो वा मैले पठाएको विद्यार्थी यस्तो ठूलो, असल मान्छे भयो । बस यत्तिमात्र हो ।
अझ भनौं, विद्यार्थीहरु विद्यालय प्रवेश गरेसंगै विद्यालय तहमा अध्ययन गर्दा लामो समय सम्म विद्यालयका शिक्षकहरुसँगको सामिप्य रहने हुँदा ती शिक्षकहरु सधैं स्मरण भइराखेको हुन्छ । तुलनात्मक रुपमा कलेज विश्वविद्यालयका शिक्षकसंग कम हुन्छ । त्यसैकारण पनि शिक्षक सदैव पुजनीय हुनुहन्छ । यो मनन गरौं ।
४ . सम्मानको अंश :- एउटा शिक्षक आफ्नो कामको सिलसिलामा जुनसुकै कार्यालयमा जाँदा त्यहाँ आफ्ना (शिष्य) विद्यार्थी भेंटिए ती कर्मचारीले बडो आदरका साथ आफू बसेको कुर्सीबाट उठेर आदर सत्कारका साथ-नमस्कार सर ! बस्नुस् । हजुरको के कत्ति काम थियो ? म गरिहाल्छु । ती कार्यालय प्रमुख हुन् वा सामान्य कर्मचारी नै किन नहोस् । आफ्ना गुरु शिक्षकलाई सोफामा राखेर चिया मगाई सबै काम सकेर पठाउनु हुन्छ । शिक्षक यत्तिमै गदगद हुन्छन् । यत्ति काम गरेपछि ती नै शिक्षक फेरि ती शिष्यको प्रशंसा गर्न कत्ति पनि कन्जुस्याइँ गर्नुहुन्न । के यो कटु सत्य हैन र ?
५ . किन फरक कानुन :- करिब ८० हजार निजामती कर्मचारीहरु स्थायी सरकार हो । प्रशासन, परराष्ट्र, लेखा, न्याय र शिक्षा समूह विभाजन गरिएको छ । तिनीहरुबाटै राज्यको सम्पूर्ण गतिविधिका साथ राज्य संचालन गरिएको हुन्छ । कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तहगत संरचना निर्माण गरिएको छ । जिल्ला र कार्यालयको काम र चापका आधारमा संख्या निर्धारण गरिएको हुन्छ । देशका सबै सरकारी कार्यालयमा लोकसेवा आयोगबाट परीक्षा लिई सिफ़ारिस गर्दछ । पछिल्लो समय शिक्षक नियुक्ति शिक्षक सेवा आयोगबाट सिफ़ारिस गर्ने व्यवस्था छ । निजामती कर्मचारीहरु सुरु नियुक्ति भएको ७ देखि १० वर्षभित्र एक तह बढुवा हुन्छ । शिक्षकको २० औं वर्षसम्म पनि बढुवा भएको छैन या हुँदैन । उस्तै परे निजामती कर्मचारी २ वा ३ तह बढुवा हुन्छ २० वर्षे अवधिभित्र ? यस्तो विभेदकारी नीति निर्माण कस्ले गर्यो ? शिक्षकले ? हैन ? कसले त ? कर्मचारीले ! हो कर्मचारीले नै हो ! त्यसैगरी सेना र प्रहरीतर्फ पनि त्यस्तै छ । त्यता पनि छिटो छिटो बढुवा भएको देखिन्छ । शिक्षा र शिक्षकलाई राज्य संचालक वा स्थायी सरकारले कुन वर्गमा राखेको छ त ? ती सबै त्यो तहमा पुग्ने निजामती कर्मचारीहरु विद्यालय तह या विश्वविद्यालयमा त शिक्षकले नै पढाएका होलान नि हैन र ? अब पनि शिक्षकलाई सम्मान नगरे कहिले गर्ने त ?
६ . किन असमान :- नेपाल सरकारको तलब भत्ता खाने निजामती, सेना, सशस्त्र, प्रहरी, संस्थानका कर्मचारी, प्राध्यापक, स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी, शिक्षक गरी करिब ५ लाख भन्दा बढी हुनुहोला । सबै तह र तप्काका कर्मचारीहरु नियमित रुपमा मासिक रुपमा तलब भत्ता खाने, अझै सोही महिनाकै २५ गते नै तलब भत्ता बुझ्ने । तर शिक्षकले चौमासिक व्यवस्था भइरहनु यो कस्तो पद्धतिको विकास गरेको ? यो पद्धतिको विकास गर्ने निजामती कर्मचारी नभएर अरु कोही हो र ?
७ . यस्तो पनि हुँदो रै’छ :- शिक्षा तथा विज्ञान मन्त्रालयले विभिन्न मुलुक वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट (जाइका, युएनिपी, युनेस्को, डानिडा जस्ता) शिक्षकहरुका लागि आएका ट्रेनिङ, गोष्ठी सेमिनारमा सबै भाग लगाएर मन्त्री, सचिव, विभागीय प्रमुख आफैं जान्थे वा आफ्नालाई पठाउँथे । तर पछि शिक्षकहरुले थाह पाएपछि मन्त्रालय समक्ष पेशागत संगठनले विरोध गरेपछि केही शिक्षकहरुलाई पठाउन थालिएको छ । यस्तोसम्म काम गर्ने त्यही निजामती कर्मचारी हैन र ?
८ . आफ्नालागि कानुन :- ‘आफ्नै हात जगन्नाथ’ भनेझैं निजामती कर्मचारीले आफ्नो र आफ्ना स्वार्थको लागि कानुन नै निर्माण गरेर उच्च शिक्षा लिन स्वदेश वा विदेशमा अध्ययन गर्न पाउने व्यवस्था नै गरे । त्यसैगरी आफ्ना छोराछोरीलाई राज्यकोषबाटै पढ्न पाउने गरी डाक्टर, इन्जीनियर जस्तो प्राविधिक विषयमा अध्ययन गर्न, छात्रवृत्ति सुविधा लिन पाउने कानुनी व्यवस्था गरेका छन । त्यस्तै खालको सुविधा शिक्षकले पाउने व्यवस्था किन गर्न सकिएन ? शिक्षक पनि राज्यकोषबाट तलव खाने हैन र ? किन विभेद ? यो विभेदकारी कानुन बनाउने निजामती कर्मचारी नै होइनन् र ?
९ . गोहीको आँसु :- नेपालको आम उच्च पदस्थ कर्मचारी आफू पढेको विद्यालयको वार्षिकोत्सव, रजत, हिरक वा स्वर्ण जयन्तीको अवसरमा आमन्त्रित हुनुहुन्छ । बडो खुसीसाथ आफ्ना शिक्षक गुरु विद्यालयको प्रशंसामा थुप्रै वचन खर्चिन्छन् । त्यही कर्मचारी सचिव या मन्त्रीले कार्यालयको कुर्चीमा बसेपछि त्यो शिक्षक विद्यालयलाई सुविधा दिने, सम्मानित वनाउने विषयमा कलम चलाउनै सक्दैनन् ? किनकि हामी निजामतीभन्दा माथिल्लो दर्जामा राख्नु पर्छ भन्ने नै ठान्दैनन् । तर सुनाउँदा र बोल्दा ठूला ठूला आदर्शता प्रदर्शन गर्छन् । यस्तालाई कुटिल प्रशासकभन्दा अत्युक्ति नहोला ? हैन त !
१०. द्वैध धारणा :- नेपालमा शिक्षा नीति निर्माण गर्ने क्रममा ती कर्मचारी, सचिव, मन्त्री वा निर्माताले कुनै पनि दिन ती प्राथमिक तहमा होस् या अन्य तहमा पढाउने आफ्ना शिक्षकलाई कहिल्यै सम्झिएनन् ? कहिल्यै शिक्षकलाई सम्मानित पेसा बनाउन लागेनन् ? कहिल्यै शिक्षामा लगानी वृद्धि गर्नु पर्छ भनेर वृद्धि गरेनन् । सिर्फ प्राथमिक तहमा पढ्दा त्यो चिसो, अँध्यारो, जस्ताबाट पानी चुहिएर, बुंग बुंग धूलो उडेको कक्षाकोठालाई सके राम्रो अझै साधन र स्रोत पुग्छ भने अन्तर्राष्ट्रिय मापदण्डको झैं बनाउनु पर्छ भनेर कहिल्यै भनेको सुनिएन । अझ उल्टै शिक्षकले पढाउँदैनन् नानाथरीका आरोप लगाउँछन् ? यो या त्यो नाममा अपमान गर्न उद्दत देखिएका छन् ?
११ . शिक्षक त्यसै खुसी हुन्छन :- शिक्षकहरुले आफ्ना विद्यार्थीहरु संसारको कुनै पनि स्थानमा पुगेर कडा मेहनत परिश्रम गरेर आफ्नो योग्यता प्रदर्शन गरेर विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयमा प्राध्यापन गरुन् वा अब्बल वैज्ञानिक दार्शनिक या जेसुकै क्षेत्रमा अब्बल भए त्यो शिक्षकले ती विद्यार्थीको मुक्तकण्ठले प्रशंसा गरेको थुप्रै उदाहरण पाइन्छ ।
१२ . निजामती कर्मचारीहरु विभिन्न मुलुकमा अध्ययन, तालिम, भ्रमणको सुविधा, नाफा भएका संस्थानहरुबाट बोनसको व्यवस्था, बैंकबाट त्यसैगरी बोनस्, ल भन्नुस् शिक्षकले मासिक तलब, चकको धूलोबाहेक अरु के पाउँछ ? कापी जाँच्न एउटा कलम पनि पाउँदैनन् ? तैपनि यत्ति अपमानित भएर बस्नु पर्ने शिक्षक ?
शिक्षकले बीसौं वर्ष हड्डी खियाएर पढाउँदा आखिर राष्ट्रबाट के पायो त ? छ त्यस्तो केही ? बरु मर्दा २-४ जना मलामी बढायो । हजारौं विद्यार्थीले ओहो आज त ‘सर’ बित्नु भएर भनेर सम्झनेबाहेक ?