सगरमाथा आरोही आङ्रिता शेर्पाको निधन
काठमाडौं असोज ५ । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । शेर्पाको सोमबार बिहान १० बजे उआफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो ।
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गरेका थिए ।