नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जाने सरकारको प्रक्षेपण



काठमाडौं असोज ४ ।

सरकारले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था नआउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अब क्रमशः संक्रमितको संख्या घट्न थाल्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन सक्ने अवस्था देखेरै देशभरको जनजीवन खुला गरिएको बताए ।

उनले काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट संक्रमण फैलिएको बताए । सुरुमा चैत ११ देखि साउन ७ गतेसम्म लकडाउन गरिएको थियो । तर, लकडाउन अन्त्यसँगै राजधानीलगायत स्थानमा संक्रमितको संख्या बढ्न थालेपछि भदौ ३ गतेदेखि संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा लागू गरिएको थियो। भदौ २४ सम्म जारी निषेधाज्ञाले संक्रमणको तीव्रदर रोक्न सफल भएको प्रवक्ता गौतमले दाबी गरे ।

३ हप्ता निषेधाज्ञा गरेर चेन ब्रेक नगरेको भए काठमाडौंमा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित देखिने गौतमको दाबी छ । उनले अब केही दिन मानिसको गतिविधि नियाल्ने जानकारी दिए। जनस्वास्थ्य मापदण्ड पालना भए यो संख्या केही दिनपछि घट्न थाल्ने प्रवक्ता गौतमले बताए ।

तर पछिल्लो समय काठमाडौं उपत्यका र देशका कतिपय स्थानमा निषेधाज्ञा लगाउँदा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा निषेधाज्ञा गर्दा पनि बढिरहेको संक्रमणको दर बिहीबारदेखि निषेधाज्ञा हटाएसँगै झन् बढ्न थालेको हो ।

कोरोनाको हटस्पटहरुमा संक्रमण नियन्त्रणमा नआइकनै लकडाउन खोलेकोमा स्वास्थ्य मन्त्रालयकै विज्ञ डाक्टरहरुले असन्तुष्टि जनाएका छन् । निषेधाज्ञा हटेपछि हटस्पटमा संक्रमण रोक्न चुनौती थपिएको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमण देशका सबै ठाउँमा नपुगेको र कतिपय स्थानमा नियन्त्रणमा समेत आइसकेकाले हटस्पट बाहेकका क्षेत्र खुला गरेर जनजीवन सामान्य बनाउन विज्ञहरुले सुझाव दिएका थिए । अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ७५ प्रतिशतभन्दा बढीमा संक्रमितको संख्या शून्य छ । तिनीहरुलाई ग्रिन जोन बनाएर खुला गर्न मन्त्रालयलाई विज्ञले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्