बन्चरे डाँडा ल्याण्डफिल साइट दशैं अगाडि नै सम्पन्न हुने
काठमाडौं असोज ४ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् ।
काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए ।
निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए। कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिएपनि दशैअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनको भनाइ छ ।
सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । वर्षको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको उनले बताए।
आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कातिक पहिलो साता सबै काम सम्पन्न गर्नेगरी अगाडि बढिरहेको उनले बताए ।
बन्चरे डाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बन्चरे डाँडामा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटकपटक निर्माणमा अवरोध गर्दै आएका थिए ।