नेतृत्व परिवर्तन स्वाभाविक हो मेरो पक्षमा प्रदर्शन नगरिदिनुस्‌ : कुलमान घिसिङ



काठमाडौं असोज ३ ।

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन अनुरोध गरेका छन्‌ ।

पछिल्ला केही दिनयता उनको पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । ती प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा केही घाइतेसमेत भएको सन्दर्भमा घिसिङले संयम अपनाउन अपील गरेका हुन् ।

घिसिङले शनिबार विज्ञप्ति निकालेरै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने जनाएका छन् ।

विज्ञप्तिमा घिसिङले भनेका छन्, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ ले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड नगर्न र प्रदर्शन नगरिदिन घिसिङले सबै समर्थकसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्