गणेशमान नेपाली राजनीतिका शिखर पुरुष हुन् : सभापति देउवा



काठमाडौं असोज २ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन ।

नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उनकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताए ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३औँ स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहेको उल्लेख गरे ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताए । गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।

पिता गणेशमानलाई स्मरण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको बताउँदै प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधैँ सम्झिरहने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्