नेकपा सचिवालय बैठक शुक्रबार
काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि बैठक तय भएको हो । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन एमससी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।
बैठकले गरेका निर्णयहरूको थप कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुने छ । शुक्रबार तय भएको सचिवालयको बैठक नेकपाको कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । यसअघि अध्यक्षद्वय ओली र प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलसँग बुधबार छलफल गरेका थिए ।
उपनेता नेम्बाङले पार्टीका समसामयिक विषयमा अध्यक्षद्वयसँग बालुवाटारमा कुराकानी भएको बताए। देशको समसामयिक विषय तथा सरकारले गर्ने विभिन्न नियुक्तिका विषयमा बिहीबार काँग्रेससँग छलफल गर्ने कुराकानी पनि भएको उनले बताएका छन् ।
यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।