सैनिकमा कोरोना देखिएपछि शान्ति स्थापना गर्न लिबिया जाने उडान रोकियो



काठमाडौँ भदौ । नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लिबिया जाने तयारीमा रहेको उडान स्थगन भएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सोमबारका लागि तय भएको उडान स्थगन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ । राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ ।

सन् २०१६ देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्