कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति



चितवन भदौ २८ ।

चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ ।

अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि सङ्क्रमण पुष्टि भएको हो । अस्पतालको आइसोलेसनमा हाल दुईजना गर्भवती उपचाररत रहेका छन् । अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ ।

उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटर सहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार सङ्क्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् ।

उनीहरुबाट जन्मिएका नवजात शिशुमामा सङ्क्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उनको भनाइ छ । डा सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये तीन नवलपरासी, दुई चितवन, गोरखा, सप्तरी र मकवानपुरका एक÷एकजना रहेका छन् । अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् ।

अस्पतालले सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्