एमसीसीबारे कुप्रचार गर्नेहरु त्यसकै दलालहरू हुन् : भीम रावल
काठमाडौं भदौ २७ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् ।
आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत उनले लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत रावलले आफुले नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू भएको आरोप लगाएका छन् ।
रावलले थप लेखेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’
शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएका छन् । यद्यपि रावलले सुरुदेखि नै एमसीसी हुबहु पारित गरे राष्ट्रघात हुने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने अडान राख्दै आएका छन् । नेकपाको स्थायी कमिटीको बैठकले पनि एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ ।