अल्का अस्पतालमा कार्यरत गीताको हत्या भतिजा निर्मलले गरेको पुष्टि
काठमाडौँ, भदौ २३। ललितपुरको अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाका अनुसार निर्मलले आफै गीताको हत्या गरेको स्वीकार गरेका छन् । साथै उनीहरु बीच आर्थिक लेनदेन लगायत अरु सम्बन्ध बारे आरोपित निर्मलले मुख नखोलेको डिएसपी ओझाले बताउनुभयो ।
निजहरु घुम्न भनेर गएको र एक्कासि उनीहरु बीच झगडा भए पछि निर्मलले घाँटीमा सलले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान पछि पत्ता लागेको हो ।हत्या गरेको दिन ६ बजे नै बेलुका निर्मल घर फर्किएको अनुसन्धानबाट थाहा भएको छ । गीताको हत्याको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी ओझाले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।
हत्याको आशङ्कामा निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको थियो । ३९ वर्षीया गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको थियो ।उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन । भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उहाँको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएका थियो । मृतक गीताका दुई बच्चा छन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे ।
यो समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।