भाँच्चिएको मन [कथा]
बुद्ध र रवि सायमी सानैदेखि असाध्यै मिल्ने साथीहरु हुन् । दुवैको उमेर १५–१६ वर्षको थियो । उनीहरुको उमेर मुस्किलले ५–६ महिनाको मात्र फरक छ । दुवै एउटै गाउँका हुन् । बुद्ध जेठा हुन् भने रवि कान्छा हुन् । दुवै जना गाउँकै एउटा सरकारी विद्यालयमा १० कक्षामा पढ्थे । बिहान उठेदेखि बेलुकासम्म धेरै जसो समय ती दुवै सँगसँगै हुन्थे । कहिले बुद्धको घरमा कहिले रविकै घरमा खाना खाएर सुत्थे । दुवैको घर परिवारले केही भन्दैनथे । जहाँ गए पनि ती दुई जना सँगसँगै हुन्थे । जात्रामा जाने, सिनेमा हेर्ने, पिकनिक, घुमघाम गर्ने, गुलेली हान्ने, पौडी खेल्न जाने, वनजंगलमा दाऊरा, घाँसपात गर्न समेत सँगसँगै जान्थे । दुवैको यस्तो मिल्ती थियो । यस्तो मिल्ती देखेर आफू सरहका अरु साथीभाइहरु पनि इर्ष्या गर्थे ।
एकदिनको कुरा हो रविले बुद्धलाई भने– हेर बुद्ध म त अब सहर गएर पढ्ने भए बाआमाले सहरमा दाइसँगै बसेर पढ्नु भनेर भन्नु भो । २–४ दिनमै म त काठमाडौं जाँदैछु तँ पनि जाने भए हिँड, सँगै जाऊ । एक्कासी रविको कुरा सुनेर बुद्ध छक्क परे र भने हैन तँ त यसै पालि एसईई परीक्षा दिनु पर्ने मान्छे किन जानु नि ! पढ़ाई बिग्रन्छ म त जान्न । यती सुनेपछि रविले फेरि भने सहरबाटै क्भ्भ् परीक्षा दिने मिलाई दिन्छु भन्नु भएको छ दाइले । बुद्धले फेरि भने एसईई दिन मिल्दैन है सहरबाट, नभए भोलि स्कुलमा हेडसरसँग सोध्नु नि ! रविले पनि भने– आ म त भोलिदेखि नै स्कुल जान्न के सोध्नु नि ? यत्ति कुरा सुनेपछि बुद्ध झनै छक्क परे । अब त सहर गएर पढाई बिगार्ने भइस् । मैले भनेको मान्छस् भने एसईई परीक्षा दिएर जा नत्र पछि पछुताउनु पर्ला ! यत्ती कुराकानी गरेर दुवै आआफ्ना घरतिर लागे । घर पुगेपछि बुद्धले धेरै बेरसम्म ओछ्यानमा पल्टेर रविको बारेमा सोचे । यत्रो दिन सँगसँगै छौं ।
कुनै दिन काठमाडौं जाने कुरा गरेन रविले तर आज एक्कासी यस्तो कुरा सुनाउँदा बुद्धको मनमा चिसो पस्यो । हिजो अस्ती त कुरै गरेन ? कस्तो कपटी रहेछ ? फेरि पढ्दै गरेको मान्छे पढाई बिग्रन्छ जानु हुन्न भन्दा पनि मान्दैन ? यस्तो साथी नि के साथी ? बुद्धको मनमा धेरै बेर के के कुरा खेलिरह्यो कुन बेला निदाएँ पत्तो नै पाएनन् । रविलाई सहर बोलाएको त जागिरे दाजु र भाउजूलाई काम सघाउन पो रहेछ । त्यो कुरा रविले चाल त पाए तर पनि काठमाडौको तडक भडक र चहल पहलले रविलाई लोभ्यायो । रविका दाजुले रविलाई १० कक्षामा भर्ना गर्न खोजेका थिए तर नियमले नमिल्ने भनेर विद्यालयबाट फर्काइयो त्यसपछि रविको पढ़ाई छुट्यो । अब रवि बिहान बेलुका दाजु भाउजूलाई घरको काममा सघाउने र दिनभर काठमाडौंको गल्ली गल्ली चोक चोक घुम्ने ।
समय गतिशील छ । बुद्धले बि.ए. सम्मको अध्ययन सकेर हाल सरकारी सेवामा सुब्बाको पदमा कार्यरत छन् । तालिमको सिलसिलामा १–२ पल्ट विदेश गैसकेका छन् । देशका विभिन्न ठाँउहरुको भ्रमण गरेर निकै सक्षम कर्मचारी रुपमा चिनिएका छन् । यता रवि पनि वैदेशिक रोजगारको सिलसिलामा मलेशियातिर हान्निएका थिए । ३ वर्ष भैसकेको थियो रवि नेपाल आउन नपाएको । यो पल्ट बल्ल बल्ल बिदा मिलाएर रवि नेपाल आएका थिए । रवि र बुद्धको एक्कैपल्ट ३ वर्षपछि दशैको अवसर परेकोले भेटघाट भयो । ३ वर्षपछि विदेशबाट आएको भएर होला रविमा निकै परिवर्तन भएको बुद्धले देखे । बानी व्यहोरा, खानपान, लवाइ खुवाइ आकाश जमिन फरक देखे । रविको गफगाफले उनी त संसारै घुमे जस्तो । मानौँ, रवि बाहेक अरु कोही कही कतै गएकै छैनन् ।
एकदिन उनका गफ मैले चाहे पनि नचाहे पनि सुने । उनका कुरा सुन्दा छक्क परेँ–समग्रमा म मलेसिया बसेर निकै पैसा कमाएँ । म जति धनी अब यो गाँउमा कोही छैन । यत्तिसम्म भन्न भ्याए मैले पनि खिस्स हाँसेर टारिदिएँ । स्कुले साथी रवि आज त्यो रवि नै पाइनँ । रवि भर्खरै विदेशबाट आएका भएर होला २–४ जना केटाहरु सधैं वरपर सँगै हुन्थे । कतिपय कुरा त बनावटी र कृतिम थिए , तर पत्याउँथे । किनकि उनका पछि लाग्ने त्यस्तै साथीहरु थिए । चिया, चुरोट, खाजा र बेलुकाको रसपानी पनि रविकै खर्चका कारण हो मा हो मिलाउँथे । त्यसै कारण रविलाई म त निकै मान्छे पो भएछु भन्ने लाग्थ्यो । विदेशबाट आए पछि रविले बुद्धलाई भने–तीन वर्षपछि आएँ हेर, मेरो मनकामना मातासँग भाकल छ, सँगै जाऔं भने बुद्धले पनि हुन्छ भनिदिए ।
मनकामना जाने दिन नजिकिँदै थियो, खबर गर्लान् भनेको त रविले खबर नै नगरी अरु नै साथीहरु लिएर गएछन् । बुद्ध त तिन छक्क परे । रवि र रविका साथीहरु २–३ दिन मनकामना पोखरा घुमेर आए । उताबाट आएको ३–४ दिनमा रविसँग भेट भयो रविले केही भनेनन् बुद्धले पनि जान्न चाहेनन् । तर रविसँग गएका मानिसहरुले मनकामना जानु भन्दा अगाडि बुद्धका बारेमा पहिल्यै चाहिदाँ नचाहिदा धेरै कुरा सुनाएका रहेछन् । त्यही कुरा सुनेर बुद्धलाई मनकामना नलगेको कुरा बुद्धले बुझे । बुद्धले पनि हामी त्यस्तो मिल्ने साथी मलाई नसोधी ती भरौटेहरुकै कुरा सुनेर रवि पर पर हुन खोजेको चाल पाए, सत्य कुरा थिएन । त्यसैले यो पल्ट पनि बुद्धको मन भाँचियो । रवि दुई महिनाको बिदामा घर आएका थिए । दुई महिना बितिसकेको थियो । रविको मलेसिया जाने अत्तो पत्तो थिएन । पछि थाह भयो मलेसिया सरकारले विदेशी कामदारलाई भिसा थप नगर्ने निर्णय गरेछ । त्यसै कारण रवि यतै बसेका रहेछन् ।
रविले मलेसियाबाहेक अरु देशमा पनि जान खोजेका रहेछन् तर कुनै पनि देशबाट भिसा नआएकोले जान पाएनन् । रवि अब नेपालमै केही काम गर्नु पर्ला भन्ने सोचमा थिए । रवि यही काम गर्ने भन्ने टुंगोमा थिएनन् । एकदिन रवि बुद्धको घरमा आए । रवि घरमा आएको देखेर के कामको लागि आएको भनेर बुद्धले सोधे । रविले अब म मलेसिया नजाने भए यसो मिलेर केही काम गरौँ कि भनेर सल्लाह गर्न आएको भने, बुद्धले पनि खै के काम गर्नु र ? तेरो र मेरो लाइन नै फरक भैसक्यो ? तँ ठूलो सपना देख्छस् ? तँसँग धेरै पैसा छ । मसँग त व्यापार गर्न कहाँबाट पैसा हुनु, म जे गर्दैछु ठीकै छ, यति भने पछि रविले भने “हैन तँ त्यसो नभन तँसँग अलिअलि आइडिया छ” मिलेर काम गरौँ । रविले ज्यादै ढिपी गरेपछि बुद्धले ल ठिकैछ, बजारमा के को माग छ त्यही अनुसार काम गरौँ न त । यति भने पछि रवि खुसी भएर घर लागे । बुद्ध र रवि दुवैले ६–६ लाखको लगानी गरेर मिठो स्प्रिंग वाटर कम्पनी खोले । बुद्ध सरकारी नोकरीको कारण विभिन्न स्थानमा जानु पर्ने भएकाले उनी गए । यता कम्पनीको सबै आर्थिक कारोबार, कम्पनीको रेखदेख, बजारको अवस्था सबै रविले हेर्ने गरी काम गर्ने सल्लाह थियो । कम्पनीको उत्पादन राम्रो भएर होला बजारमा माग दिन प्रतिदिन बढ्दै गयो । बजारमा आपूर्ति गर्न नै धौ धौ पर्यो । सानो लगानी नाफा राम्रो भएकोले २ वर्षमै लगानी उठ्यो ।
रवि हिजोआज कम्पनी जान त्यती मन गर्दैनन् । रवि पुरानै बानीअनुसार साथीभाइसँग घुम्ने मोजमस्ती गर्ने क्रियाकलाप दोहोर्याउन थाले । यो कुरा बुद्धले थाहा पाइसकेका थिए । बुद्धले १–२ पल्ट फोन गरेर सम्झाएका थिए, रविले हुन्छ भने तर आफू सुध्रिएनन् । रविले कम्पनीमै काम गर्ने कामदारलाई जिम्मा लगाई काम अह्राएर हिड्न थाले । रवि कत्तीपल्ट कैयौँ दिन सम्म पनि कम्पनी गएनन् । बजारमा निकै माग बढे पनि आपूर्ति गर्न नसके पछि होटल, डिपार्टमेन्ट स्टोर, होल सेलर र साना ठूला पसलेहरुले नयाँ कम्पनीबाट पानी लिन छाडे । बजारमा निकै उचाईमा पुगेको मिठो स्प्रिंग वाटर कम्पनी क्रमशः ओरालो लाग्न थाल्यो । दिन प्रतिदिन कर्मचारीहरुलाई तलब दिन समेत धौ धौ पर्ने अवस्था आयो । अन्ततः कम्पनी नै बन्द भयो ।
बुद्धलाई त्यो बेलामा रविले गरेका क्रियाकलाप मन परेको थिएन । रविकै आम्दानीको लागि बाटो खोलिदिएको थिए । उसले नै गरेन त म के गरौँ ? मनमनै बुद्धले सोचे । यस पटक पनि रविदेखि बुद्धको नराम्रोसँग चित्त दुखेको थियो । त्यसपछि फेरि रवि बुद्धबाट टाढिँदै जान लागे । देशमा व्यवस्था परिवर्तनको माग गर्दै आन्दोलन हुन लाग्यो । बुद्ध र रवि सक्रिय रुपमा आन्दोलनमा सहभागी भए । आन्दोलन सफल भयो देशमा बहुदलीय व्यवस्था स्थापना भयो । बुद्ध साम्यवादी व्यवस्था ठीक भन्न थाले, रवि पुँजीवादी व्यवस्था । बुद्ध र रविको अब विचार पनि मिल्न छाड्यो । बुद्ध र रवि आ–आफ्नै दर्शनबाट प्रशिक्षित, प्रेरित हुन लागे । गाँउघरमा पाटी पौवा, क्लब, संघ संस्था निर्माण हुन थाले बुद्ध र रविबीच एकले अर्कालाई निषेध गर्न थाले । तैपनि बुद्धले रविलाई हर तरहबाट माथि उठाउन खोज्छन् । जताततै राजनैतिक दर्शनको हावी हुन थाल्यो । अब बुद्ध र रवि हिजोको जस्तो साथी, साथी भएनन् । प्रत्यक्ष अप्रत्यक्ष एक अर्का बीच प्रतिस्पर्धा नै हुन थाल्यो । त्यो राजनैतिक घटनाक्रम र त्यसबाट सृजना भएको समाज र दम्भ र अहमवादको माहोलले बुद्ध चित्त बुझाउन सकेका थिएनन् । रविलाई कुनै पनि स्थानीय संघ संस्थाको प्रमुख हुनै पर्ने, समाजले माने पनि नमाने पनि, यस्तो कुरा बुद्धलाई मन पर्दैनथ्यो । रविलाई सम्झायो नाइँ नभन्ने तर नटेर्ने यस्तो प्रवृतिले बुद्धको मन झनै कुँडिएको थियो ।
बुद्ध र रवि दुबैको विवाह भएको थिएन । दुबैको विवाह गर्ने कुराकानी चल्थ्यो, विवाहको साइत जुरेको थिएन । मङ्सिरमा रविको विवाहको टुंगो लाग्यो । बुद्ध दशैँ तिहार मनाउन घर आएका थिए । रविको विवाहको कुरा सुनेपछि बुद्ध खुसी भए । विवाहको दिन नजिकिदै थियो, सबैको घर घरमा निम्ता पुगिसकेको थियो । बुद्धको घरमा निम्ता नै थिएन । रविले बुद्धको घरमा जानी जानी निम्ता नै पठाएका थिएनन् । विवाहको दिन जन्ती जान वरपरबाट नातागोता साथीहरु, वरपरका गाँउलेहरु जम्मा हुन थाले । दमाईले बाजा बजाउन थाले । बुद्धले बा र आमालाई सोधे–रविको विवाहको निम्ता छैन बा ? बा र आमा दुवैले एक्कै पल्ट एउटै स्वरमा –छैन भने । बाआमाको यो कुरा सुनेपछि बुद्ध खङ्ग्रह भए, असिन पसिन भए, के गरौँ के नगरौँ भए । बुद्ध आफै सम्हालिए । बुद्धमाथि आफ्नै कोठामा सरासर गए । धेरै बेरसम्म कोठामा बसेर सोचिरहे । रविको बिहेको निम्ता छैन ? बिबाहमा जन्ती जाऊँ कि नजाऊँ ? नजाऊँ रविले के भन्ने हो ? जाऊँ निम्ता छैन ? कतै निम्ता दिएर छुटेको पो हो कि ? जानी जानी नदिएको पो हो कि ? जन्ती जाऊँ कि नजाऊँ यस्तै प्रश्न मनमा धेरै बेर खेलिरह्यो ।
बुद्धले रविको बिहेमा जन्ती जान अघिल्लो दिनमै दौरा सुरुवाल कोट सटक्क मिलाएर राखेका थिए । रविको घरमा जन्ती जान सबै जसो जम्मा भैसकेका थिए । दमाइले दुलाहा अन्माउने मंगल धुन बजाएर जन्ती अन्माए । बुद्धले घरको झ्यालबाट हेरे । दुलाहा अगाडि बढ्दै थियो । बुद्ध झनै दुविविधामा परे ! के गरौँ के गरौ भयो ? अन्ततः बुद्धले जन्ती जाने निर्णय गरे पलङमाथि राखेको दौरा सुरुवाल कोट लगाएर चटक्क भएर जन्ती जान निस्के । बा आमा बुद्धलाई देखेर छक्क परेर हेरे । बुद्ध मन अमिलो पारेर रविको बिहेमा जन्ती गएका थिए । बुद्ध जन्तीमा मिसिए । रवि दुलहीको घरको विवाह मण्डपमा थिए रविले बुद्धलाई देखे । रविले बुद्धलाई देखेर कुनै प्रतिक्रिया जनाएनन् । वास्ता नै नगरे झै लाग्यो । झनै बुद्धको मन कुढियो । बुद्धको मनमा त्यो विवाहको दिन दिनभर नै चिसो पसिरह्यो ! व्यर्थै आएको ? थक्क थक्क लागिरह्यो !
विवाहको भोलीपल्ट भोज थियो । भोजमा भने बुद्ध गएनन् । रविले बुद्धलाई किन भोजमा नआएको आजसम्म सोधेका छैनन् ? बुद्धले पनि किन बिबाहमा निम्ता नदिएको सोधेका छैनन् । वर्षौ वर्ष सँगसँगै हिँडेको साथी, दुःख सुखमा साथ साथै रहेको, व्यापारमा साझेदारी, भएर पनि बिहे जस्तोमा पनि निम्ता नपठाउनु र विवाह मण्डपमा पनि कुनै प्रतिक्रिया नजनाउनुले बुद्धको मन निकै दुखेको छ । यो पटक त बुद्धको मन कहिल्यै नजोडिने गरी भाँच्चिएको छ !
हिजोआज कतिपय ठाऊँमा बुद्ध र रवि सँगसँगै हुन्छन् । मिटिङ, छलफल, सभा सम्मेलन, गोष्ठी, भोज भतेरमा समेत सामान्य भन्दा सामान्य औपचारिकता मात्र आदानप्रदान हुन्छ । बुद्ध र रवि हिजोको जस्तो मन खोलेर कुरा गर्दैनन् । अफ्ठेरो सफ्ठेरो जे जसलाई भए पनि एक अर्कोलाई केही सोध्दैनन । एउटै गाऊँ भएर होला एक–अर्कोको अवस्था दुबैलाई राम्ररी थाह छ त्यसैले सोध्दैनन् । आ–आफ्नै तरिकाले बाँचेका छन्। विभिन्न समय कालखण्ड र घटनाक्रमले होला बुद्धको मन अब कहिल्यै नजोडिने गरी नराम्ररी भाँचिएको छ। मन भाँचिएको छ ।