टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने वाग्मती सरकारको निर्णय



काठमाडौं भदौ २० । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ ।

वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

टोखाको भदौ ७ गते बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सिफारिस गरेको थियो । उक्त स्वास्थ्य केन्द्र अब प्रदेश मातहत अस्पतालका रुपमा सञ्चालन हुनेछ । उक्त स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै ५० श्यया अस्पताल बन्नेछ ।

प्रदेश सरकारले हरेक जिल्लाको एउटा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँको प्रादेशिक अस्पतालमा पर्न सफल भएको हो । केन्द्रमा आइसोलेशन सेन्टर स्थापना गरेर कोभिड–१९ का बिरामीको उपचार गरिएको । शुरुमा १७ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएकोमा वस्था हेरेर क्रमशः सय श्यया पुर्‍याउने लक्ष्य राखेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

टोखामा बिहीबारसम्म २३३ कोरोना सङ्क्रमित देखिएका छन् जसमध्ये ९२ डिस्चार्ज र १३८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ९९ होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्