मगर समाजलाई हेपेर बनाएको चलचित्र ‘साली कस्को भेनाको ?’ !
धेरै पहिलेदेखि मगर मित्रहरुले चलचित्र ‘साली कस्को भेनाको ?’ हेर्न सुझाएको थियो । समय पाएको थिएनँ । लकडाउनको सदुपयोग गर्दै हेरें ।
एउटा हिन्दू मगर दम्पतीको तीनवटा छोरी छन् । जेठी छोरीको बिहेपछि दुई छोराछोरी जन्माएर मृत्यु भएको छ । माइली छोरी दस वर्षदेखि जापान गएको श्रीमान्को पर्खाइमा यौनको तृष्णामा छटपटाइरहेकी छिन् । कान्छी छोरी बाउआमाले भेनासँग विवाह गराउन कुरा छिनेपछि गाउँकै प्रेमीसँग भाग्छिन् । माछा मारेर जीविकापार्जन गर्ने र गरिब निरीह भाञ्जा (ज्वाइँ) सँग माइली छोरीको विवाह गरिदिन्छ ।
चलचित्रमा मुख्य पात्र कोहो उसको लक्ष्य के हो ? त्यो प्राप्तिको लागि कसरी संघर्ष गर्छ ? संघर्ष गर्दा के बाधा आइ पर्छन् केही छैनन् । स्क्रिप्ट लेखक र निर्देशकले मगर समाज नै बुझेको देखिँदैन । मगरमा हक लाग्ने साली र साइनो पर्ने सालीसँग बोल्ने र व्यवहार गर्ने तौरतरिका फरक हुन्छन् । हक लाग्ने साली, परिवार र छिमेकीसँग सम्बन्ध प्रथाजनित कानुन अनुसारको साँध सिमाना हुन्छ। हक लाग्ने भन्दैमा कुनियत गर्न पाइँदैन ।
फिल्ममा समाज देखिँदैन । बाहिर वा समाजकै मान्छे आउँदा गाउँलेले निगरानी गरेको हुन्छ । मगरले खाजाको रुपमा काम गर्दा जाँड पिउँछन् । चौबिसै घन्टा पिउँदैनन् । संस्कृति, परम्परा देखिँदैन । समाजको दिनचर्या छैन । पात्रहरुलाई भेषभुषामा ध्यान दिएको छैन । घरमा बसेकी बूढी आमाको पहिरन बजारबाट किनेर नयाँ पहिरिएको छ । अझ उदेकलाग्दो छोरीहरु एउटा मङ्गोल, एउटा आर्यन अनुहारको देखाइएको छ ।
मगर लवजमा बोलेको छ नाटकीयपन छ । बाउले टट पनि बोल्छ, नेपाली लवज पनि बोल्छ फेरि तामाङ लवज पनि बोल्छ । बागलुङ, गुल्मी, म्याग्दी र पर्वतका मगरले मगर भाषा नबोले पनि मगर लवजमा बोल्छन् । वाक्य पूरा होइन्जेलमा एउटा मगर शब्द पनि प्रयोग गर्नुको कारण थाह पाएको भए लवजमा यस्तो हेल्चेक्र्याइँ गर्ने थिएनन् ।
जातिबारे चलचित्र बनाउँदा सकारात्मक वा नकरात्मक भए पनि त्यो समुदाय विश्वस्त हुनु पर्दछ । विम्बमार्फत दृश्याङ्कनभन्दा संवादबाट अभिव्यक्ति गराइएको छ ।
समाजलाई बुझेर भन्दा पनि हेपेर बनाएको चलचित्रप्रति नेपाल मगर संघ, नेपाल मगर चलचित्रकर्मी संघ, मगर बुद्धिजिवीको कुनै प्रतिक्रिया नदेख्दा ताजुब लागेको छ । अझ नेपाली मगर चलचित्र भनेर दंग परेको देख्दा तिनछक परेको छु । चलचित्रले भन्न खोजेको के हो ? केही भेउ पाउन सकिनँ ।
फेसबुकबाट