कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति
काठमाडौं, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। संक्रमण वृद्धिसंगै स्थानीय प्रशासनले निषेधाज्ञाका साथ नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको हो ।
स्वाथ्य मन्त्रालयका विज्ञ, स्वाथ्य सेवा विभागसहितको टोलीसँग छलफल गरी उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ रणनीति ल्याएको हो । रणनीतिअनुसार उपत्यकामा एकजना संक्रमतिसँग सम्पर्कमा आएका १३ जनासम्मलाई पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । उपत्यकामा झन्डै ३ हजार ५ जना संक्रमित छन् ।
तीमध्ये एक संक्रमितसँग सम्पर्कमा आएका १३ जनाको पीसीआर परीक्षण गरिने भएको हो । सबै संख्या जोड्दा आउँदो एक साताभित्र करिब ४५ हजारको पीसीआर परीक्षण गरिने भएको छ । स्थानीय तहको जनस्वाथ्य विज्ञसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको कोरोना परीक्षण गरिने निर्णय गरिएको बताइएको छ । स्थानीय निकायले कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी गरेको छ ।
मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केही दिन अघिदेखि नै परीक्षण शुरु गरिसकेका छौं । । एकसातामा सबैको परीक्षण सक्ने लक्ष्य लिइएको छ ।’
उहाँका अनुसार सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रका वडा र टोलमा पुगेर परीक्षण गर्ने भएको छ । मेयर महर्जनले भन्नुभयो– ‘संक्रमितबाहेक सरकारी र निजी अस्पतालबाट गरिने परीक्षण यथावत् रहनेछ ।’
यो समाचार नेपाल समाचार पत्रले प्रकाशन गरेको छ ।