कोरोनाका कारण घट्यो रेमिट्यान्स, अघिल्लो आवको तुलनामा गत आवमा सवा ४ अर्ब कमी



काठमाडौं भदौ ८ । कोरोना भाइरसको महामारीका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा ४ अर्ब २४ करोड रुपैयाँले कमी आएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई आठ खर्ब ७५ अर्ब ३ करोड कायम भएको छ ।

आव २०७५/७६ को तुलनामा २०७६/७७ मा मात्रै रु चार अर्ब २४ करोडले घटेको हो । वैदेशिक रोजगारीका लागि नेपाली कामदार पुगेका विभिन्न श्रम गन्तव्य लामो समयदेखि बन्द हुँदा समेत विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आव २०७६/७७ को वार्षिक विवरण अनुसार विप्रेषण आयमा खासै प्रभाव नपरेको पाइएको हो । आव २०७६/७७ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । आव २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो । आव २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु नौ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्