सुदुरपश्चिममा बाढी र पहिरोमा परी १० जनाको मृत्यु १७ बेपत्ता
अछाम भदौ ३ ।
सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् ।
अछाममा ६ जना, बझाङ र बाजुरामा २/२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।
गाउँपालिका अध्यक्ष झंकर साउदका अनुसार नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन छन्। त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष गरी दुई जनाको शव भेटिएको छ।
यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ भने अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।
यस्तै एक जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिए। बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुलसमेत बगाएको छ । बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।
कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बताएको छ । हराइरहेकाहरुको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर अछाम पुगिसकेको छ ।सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको छ ।
बुधबार नै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए ।
पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा उनका छोरा र आफन्तको मृत्यु भएको हो । ४० वर्षकी पिपला, उनकी छोरीहरु १८ वर्षकी छोरी सुनीता र १२ वर्षकी सन्तोषी र छोरा १६ वर्षका अनिल घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ
उता बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनीता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामै बडिगाढ र धूपे खोलामा आएको बाढीमा बगेर धिनु लुहारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिए । बाजुराका भूपे, बड्डी गाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् ।