सरकारले गरिदिन्छ भनेर बस्नु हुँदैन, विपद् रोकथाममा नागरिक आफैं लागौं : भूगर्भविद् [अन्तर्वार्ता]
सुबोध ढकाल, भूगर्भविद् हुन् । पहिरो सम्बन्धी उनले विद्यावारिधी गरेका छन् । हाल त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका ढकालसँग पहिरोबाट हुने क्षति न्यूनिकरणका उपाय र जोखिमबारे कुराकानी गरिएको छ । शुक्रबार सिन्धुपाल्चोल्को जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा ठूलो धनजनको क्षति भयो । आइतबार अपराह्नसम्म १८ जनाको शव भेटिइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । नेपालमा यस्ता दर्जनौं पहिरो सम्भावित क्षेत्रहरु छन् । त्यहाँ कसरी जोगिने र जोगाउने सम्बन्धमा पहिरोविद् ढकालसँग संक्षिप्त जिज्ञासा राखिएको छ ।
प्राकृतिक विपद् भयो भनेर बस्नु परिरहेको अवस्था छ, क्षति न्यूनिकरण गर्न सकिन्थ्यो कि सकिन्थेन ?
सकिन्थ्यो । कुनै पनि विपद् दुखद् हुन्छन् । शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा जुन घटना भयो । त्य अत्यन्तै दुखद् हो । किनभने विपद एक्कासी आउँछ । हामीले थाह पाउँदैन । अनि ज्यान जान्छ भन्ने कुरा हुन्छन् । शुक्रबारको घटनामा स्थानीयले केही वर्षदेखि सरकार र सरोकारवाला निकाय गुहारेको तर सहयोग नपाएको अवस्था बन्यो । एक हप्ता अगाडि नै विपद् आउँछ भन्ने थाहा भइसकेको अवस्थामा उहाँहरुलाई सुरक्षित स्थानमा सार्न एकदमै जरुरी थियो । किन सकिएन भन्दा हामीले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेका छौं तर पहिरोसँग जुध्नु छ भने पहिरो पहिचानदेखि रोकथामका लागि जान्ने मानवीय जनशक्ति हुन्छन्, भूगर्भविदहरु ।
उहाँहरुले सेन्ट्रल लेभलमा पुर्याउन सकेका हुँदैनन् भने स्थानीय निकायमा नभएकामा जति कुरा गरे पनि स्थानीय सरकारले कित पत्याउँदैनन्, पत्याइहाले पनि हामीले के गर्न सक्छौं र भनेर बसिरहेको मैले देखेँ । त्यसैले हाम्रा जतिपनि पालिकाहरु छन् तिनमा जति पनि पहिरो, बाढी, भूकम्प रोकथामका काम गर्न सक्ने इन्जिनियरिङ भूगर्भविदहरुलाई सही ठाउँमा जबसम्म राख्न सक्दैनौं त्यतिबेलासम्म पहिरो आउँदैछ अथवा बाढी आउँदैछ भन्ने थाहा भए पनि मान्छेका ज्यान जोगाउन सक्दा रहेनछौं भन्ने यस घटनाले प्रस्ट पारेको छ ।
लिदीको उक्त ठाउँलाई त एल्लो जोनमा राखिसकेको भन्ने छ नि ?
एल्लो जोनमा राखिसकेपछि हामीले त्यो जोनमा पहिला विस्तृत अध्ययन गरेर त्यस्ता ठाउँमा कस्ट बेनिफिटको कुरा गर्नु पर्ने हुन्छ । धेरै खर्च गरेर त्यहाँका कति मान्छेलाई जोगाउन सक्थ्यो त भन्ने कुरा रहन्छ । अर्को कुरा, धेरै खर्च गर्नुभन्दा मान्छेको जीवन महत्वपूर्ण भएकोले बस्तीलाई नै अर्को ठाउँमा सारौं भन्न दोस्रो अपसन हुन्छ । एल्लो जोनले त्यहाँ केही काम गरेर बचाउन सकिन्छ भन्ने कन्सेप्ट दिन्छ । अहिलेको अवस्था हेर्दा त्यहाँ बस्ती पनि बाग्लै भएको देखियो । घरहरु पनि ठूलै संख्यामा पुरिएको देखिसक्यो ।
त्यत्रो जनसंख्या भएको ठाउँमा हामीले जोखिम मोलेर वा रोकथाम गर्न सकिँदैन भन्ने थाहा छ भने वर्षा सुरु हुनुभन्दा अगावै सुरक्षित स्थानमा लगेर राखिदिनुपर्ने । तर मान्छेहरुमा आफ्ना पुर्ख्यौली थलो छोड्न नचाहने र बाध्यता देखाउने गरिन्छ पनि । त्यति हुँदा हुँदै उनीहरुलाई अर्को ठाउँमा यस्तो यस्तो सुविधा हुन्छ भनेर आकर्षण गराउने काम राज्यकै हुन्छ । जनताले यस्तो गर्यो भनेर राज्य चुप लागेर बस्ने कुरा हुँदैन । स्थानीय निकायलाई अधिकार दिए पनि स्रोत साधन दिन नसकेको र डिसिजन मेकिङमा कमजोरीहरु देखियो ।
यस्ता पहिरो जोखिमका थुप्रै ठाउँ छन् । त्यस्ता जोखिम स्थानीयले चिन्न सक्ने कुनै उपाय पनि छ कि भूगर्भविद्हरु नै चाहिन्छ ?
आँकलन त गर्न सकिन्छ तर मिल्नका लागि स्थलगत अध्ययन अलि बढी गर्नुपर्ने जरुरी हुन्छ । बर्खा लागिसकेपछि कोही पनि अध्ययन गर्न पनि जाँदैनन् र बचाउने काम पनि गरिरहेको हुँदैन । त्यसैले नागरिक आफैं जागरुक हुनुपर्ने जरुरी हुन्छ । उहाँहरुले हाम्रो ठाउँ पहिरो जाँदै छ कि भनेर अनुगमन गर्नुपर्ने हुन्छ । बर्खा लागेपछि किन पहिरो जान्छ भन्दा बर्खामा परेको पानी जमिनमुनी छिर्न थाल्छ । त्यस्तो पानी धेरै भित्र छिर्न सक्दैन ।
कुनै ठाउँमा गएर बारिएको हुन्छ । अनि त्यो पानी जहिल्यै पनि बाहिर निस्किन खोज्छ । बाहिर निस्कन खोज्दा अतिरिक्त चाप हुन्छ । भीरलाई धकेलेर बाहिर निस्किनु पर्ने कारण हुन्छ । मान्छेहरुमा दुई पानी पर्यो अब घाम लागेकोले केही पनि हुँदैन भन्ने सोचाइ हुन्छ । त्यसले पहिले परेको पानी छिरेकोले बिस्तारै बिस्तारै बाहिर निस्किन खोज्दा पहिरो ल्याउन सक्छ ।
अन्य ठाउँका बस्तीभन्दा माथि पहाड हुन्छ । त्यहाँ पनि बसेको पहाड झर्न ठीक्क परेको भनेर बुझ्नु पर्छ । कतिपय ठाउँमा चिरा परेको, ठूल्ठूला भ्वाङहरु परेको हुन्छन् । भूकम्पका बेला पनि बारपाक, लारपाकदेखि अरु प्रभावित क्षेत्रहरुमा ठूल्ठूला चिराहरु र भ्वाङहरु परेका हुन्छन् । पानीकै कारण पनि त्यस्तो भ्वाङ र चिराहरु परेका हुन्छन् । चिरा पर्न भनेको त्यहाँ पहिरो जाँदैछ भन्नु हो । त्यस्ता चिरालाई सकेसम्म पुर्नु पर्यो । ढुंगा माटो सबै मिसिएको चिजले पुर्नुपर्यो, खाद्नु पर्यो । त्यसपछि सके सिमेन्टले पुर्ने नसके बाक्लो खालको प्लास्टिकले ढाक्यो भने कमसेकम एउटा बर्खालाई धान्न सकिन्छ भन्ने हामीले बुझ्नु पर्यो ।
कतिपय ठाउँमा रुखह बांगिएर बसेका हुन्छन् । त्यसले माथिबाट केही चिजले ठेलिरहेका छन् । सिधा बस्नपर्ने रुख तलतिर ढल्किएकोले त्यस्ता ठाउँमा निकट भविष्यमा पहिरो जाँदै छ भनेर थाहा पाउन सकिन्छ ।
जस्तै कतिपय ठाउँमा खोला घुमेको हुन्छ । जहाँ खोला घुमेको हुन्छ त्यहाँनिर पावर एकदमै बढी हुन्छ । तल्लो भेगमा कटान गर्यो भने माथिल्लो भागमा पहिरो जान सक्छ । त्यस्तो खोलामा छेकबार गर्ने, ढुंगा लगेर थुपार्ने बर्खा अगावै । त्यसो गरियो भने खोलाको वेगले कटान गर्न पाउँदैन । कतिपय हाम्रो धारा, मुलहरु भएका ठाउँमा पानी नै नपरेका बेला एक्कासी पानी बढ्दिने । आकाशबाट पानी परिरहेकै बेला मुल सुकिदिने । त्यो भनेको जमिनमा गडबढ हुनु हो । त्यस्तै बर्खामा जथाभावी पानी बग्छ । त्यसलाई कुलो खनेर एकतिर बगाउनुपर्छ । कुलोमा सिमेन्ट वा प्लास्टिक राख्न सकिन्छ । त्यसकारण आफैंले अनुगमन गर्नुपर्छ । सरकारले गरिदिन्छ भनेर बस्न हुँदैन ।