नियात्रा : ‘मातृभूमिको परिवेशमा मेरो परिवार र म !’



– रामचन्द्र दाहाल

तानसेन पाल्पा :
पोखराबाट तानसेन बजारको दुरी २२४ कि.मी रहेछ । सीताराम ड्राइभरले भने– “बाटामा कुनै अवरोध आएन भने ३.५ घण्टादेखि ४ घण्टाभित्र पुगिन्छ ।” त्यही अनुमानले हामी अगाडि बढ्यौँ । बाटामा पर्ने मुख्य स्याङ्जा बजार र अन्य ससाना बजारहरू : पुतलीबजार, वालिङ्, कलकोट, गल्याङ्, आदि बजार हुँदै रम्दीमा काली गण्डकी पुल तरेर पाल्पा प्रवेश गरियो ।

बाटाका तलमाथि पाखैभरि सेता र गुलाबी फूल, त्यसै गरी लालीगुँरास फुलेर झकिझकाउ थिए । बाटो अत्यन्त जोखिमपूर्ण थियो । तारे पहरो काटेर बाटो चिरेका अधिकांस ठाउँहरू कहालीलाग्दा थिए । लगभग १२ फिट भन्दा फराकिलो बाटो थिएन । त्यस्ता छाँगा छहरा चिरेर बनाएको अक्करे भिरका बाटामा हाम्रो गाडी तीव्र गतिमा गुड्दै थियो । जे होस् नगन्ने ठाउँमा बाटो बिग्रेको भए तापनि धेरै जसो पिच भएको राम्रो अवस्थाकै थियो । त्यसैले पनि हाम्रो यात्रा मङ्गलमय नै भयो । त्यो विकट भूगोलको पाखो पहरो चिरेर बाटो बनाउने जुन समयको, जसको सरकार भए तापनि राम्रो काम भएको भन्नु पर्छ । योजना गर्ने प्रविधिज्ञ अनि सहयोग गर्ने राष्ट्र दातृ निकाय जो भए पनि तत्कालीन व्यवस्थापनलाई धन्यवाद भन्दछु ।

हामी पाल्पा बजार पुग्दा ठ्याक्कै ३.५ घण्टा लाग्यो । हाम्रा सीताराम ड्राइभरलाई मैले घडी हेरेर “धन्यवाद हामी ठ्याक्कै ३.५ धण्टामा आइपुग्यौँ ” भनेँ । सीताराम खुशीले मुसुक्क हाँसे । पाल्पा बजार हामी समयमै पुगेछौँ । पाल्पा बजारमा नेवारजातिको वाहुल्य भए तापनि रैथाने व्यापारी र आयातित व्यापारीहरू प्रशस्तै देखिए । त्यहाँ धन्सार एरियामा पाल्पाली प्रसिद्ध करुवा उद्योग रहेछ । हातेतानमा ढाका बनाई रहेका उद्योग र घरेलु हस्तकलाका ढाका डिजाइनहरू उल्लेखनीय रहेछन् । काँस, तामा, पित्तल, धलोट आदि धातु गालेर विभिन्न आकार प्रकारका वर्तन बनाउने साना ठूला उद्योगहरू यत्रतत्र भेटिए ।

ढाकाबाट बनेका टोपी, पेटी, ज्याकेट, दौरासुरुवाल, सल, भोटो, चौबन्दी र ईष्टकोटहरू आकर्षक देखिए । कृषिजन्य उत्पादन हुने उर्वर माटोले खेतबारीमा हरियाली देखियो । छोटो समयमा बजार परिसरमात्र घुम्दा पशुपालन र पशुजन्य उत्पादन देखिएन । गाँउका अन्य भेगतिर होला भन्ने अनुमान मात्र गरियो ।

वास बस्नको लागि निकै बेर भौतारिनु पर्‍यो । समुन्द्र सतहबाट ६ हजार फिट उचाईमा रहेको तानसेन बजार रमाइलो थियो तर बजार एरिया जतासुकै बाटो खनेर अलपत्र थियो । गाडी जता छिरायो उतै बाटाको अवरोधले निकै समय गाडी व्यवस्थित गर्नमै खर्चिनु पर्‍यो । बासको लागि होटल खोज्दै हिडेका हामी अन्तत: होटल ह्वाइट लेक भन्ने होटलमा कोठा बुक गर्न पुग्यौँ ।

होटल हेर्दा भव्य भए पनि भित्रको व्वस्थापन भने राम्रो थिएन । सुत्ने कोठा र ओछ्यानहरू त राम्रै थिए तर खानाको गुणस्तर घटिया थियो । पिउने पानी, वाईफाई, टेलिभिजन आदिको व्यवस्था पनि त्यति राम्रो थिएन । कलिङ्गबेल बजाउँदा पनि सहयोगीले सहयोग गरेनन् । लगेज आदि ओसारपसारचाहिँ गरिदिए । जे होस् त्यो होटलमा हामीले एकरात गुजार्‍यौँ ।

भोलिपल्ट ८ गते सवेरै स्नानादिकर्म सकेर पाल्पा बजारको ‘द ह्वाइट लेक’ होटलबाट १० किलोमिटर माथि पर्ने प्रसिद्ध भैरवनाथको दर्शन गर्न उकालो चढियो ।

भैरवनाथमन्दिर :
भैरवनाथ जाने बाटो सानो भए पनि पक्की नै थियो । गाउँ गाउँमा जोड्न सहायक बाटाहरू खनिएका थिए । पाखा, डाँडा चिरिएका थिए । पानीका पाइप जतासुकै डोजरले काटिएर अलपत्र नै थिए । त्यतैतिर कतै खाने पानीका भाँडा लामवद्ध देखिए । सल्लाका अग्ला रुखहरू जरैबाट उखेलिएका थिए । जताततै पहिरो गएका फुस्रा पहाड देख्दा मन अलि उदासिलो भयो ।

भैरवनाथ पुग्न त अझ १.५ कि.मी भर्‍याङ् चढ्नु पर्ने रहेछ । अर्को रमाइलो कुरा त त्यहाँ भैरवनाथको दर्शन गर्न जाने भक्तजनहरूलाई कुकुरले मार्गनिर्देश गर्दा रहेछन् । हामीलाई पनि एउटा खैरे कुकुरले पखी पखी मन्दिर पुर्‍यायो । यात्रु पुर्‍याएपछि मन्दिरका रैथाने कुकुरहरूले बिद्रोह गरेर फेरि तलै लखेट्दा रहेछन् । हामीलाई पुर्‍याउने खैरेले नि:शुल्क मन्दिरमा पुर्‍याएर खाली मुख फर्कियो । तलका खैरे–खैरीहरूको पालैपालो दर्शनार्थीलाई मार्गनिर्देश गर्दै माथि पुर्‍याउने जिम्मा रहेछ । हामी तल झर्दा हामीलाई बाटो देखाएर माथि पुर्‍याउने खैरेको पालो परेर होला अर्का यात्रु लिएर माथि चढ्दै थियो ।

भैरव र भगवतीलाई रोटो (बाबर) चढाउने चलन रहेछ । मन्दिर जाने बाटोको उकालोभरि रोटो बेच्नेका ताप्केपसल दायाँबायाँ थिए । सामान्यतया एक माना चामलको पिठोले एउटा रोटो घ्यूमा पकाएर तयार पार्दा रहेछन् । उक्त रोटोको तत्कालको(२०७६)मूल्य १०० पर्दो रहेछ । हामीले मन्दिरको केही तल रोटो र पूजासामग्री किनेर मन्दिर प्रवेश गर्‍यौँ । मन्दिर डाँडोको थाप्लोमा निर्मित रहेछ । मन्दिर राम्रो र पवित्र हुँदाहुदै पनि मन्दिरभित्र उल्लेखनीय सफाई देखिएन ।

हामीले रोटो चढाएर भैरव र भगवतीको पूजा दर्शन गरेर त्यहाँबाट थोरै (मैले अनुमान गरेको दिशा पहिचान ठिक दुरुस्त भए) पूर्वउत्तर पर्ने श्रीनगर डाँडातिर फर्कियौँ । श्रीनगर डाँडाबाट हिमालको पहिचान गराउने एउटा स्थानीय अधवैँसे नरबहादुर रोकायका अनुसार– देखिने हिमालहरूमा कानजीरोवा, धौलागिरी, अन्नपूर्ण, मन्सिरी, गणेश र लाङ्टाङ् हिमाल प्रष्ट देखाएर चिनाए । जीवनमै नदेखेको हिमाली दुर्लभ दृश्य हेरेर हामीले भरपूर आनन्द अनुभूत गर्‍यौँ ।

यी हिमालहरूको प्रष्ट परिदृश्य नजिकै जस्तोबाट देखिने भएकाले स्वदेशीभन्दा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति थियो । हाम्रो त समय साँघुरो भएका कारण र अर्को कारण अत्यधिक चिसो हावाको चापले ठण्डी सहन गर्न नसकेर चाँडै ओरालो झर्नु पर्‍यो । श्रीनगरबाट सिधै पाल्पाको रानीमहल हेर्न कालीगण्डकीको किनारतर्फ लाग्यौँ ।

रानीमहल :

रानीमहल


आकर्षक रानीमहल पाल्पा बजारबाट १३ कि.मी उत्तरतिर अवस्थित रहेछ । खड्गशम्शेर जवरा पाल्पामा तैनाथका रूपमा रहँदा स्व: कान्छी रानी तेजकुमारीको वियोगमा सम्झना स्वरूप निर्माण भएको बुझिन्छ । सो दरवार युरोपियन शैलीमा वि.सं १९४९ तिर विदेशी वास्तुकारद्वारा निर्माण सुरुगरी वि.सं १९५४ को ५ वर्षे कार्यअवधिमा सपन्न भएको अभिलेख रहेछ । त्यो समयमा बनेको दरवारको संरचना हेर्दा भौगोलिक विकटता अनुरूप पनि ५ वर्षको अवधिमा सामान ढुवानी गरेर निर्माण सम्पन्न गर्नु चुनौतीपूर्ण देखिन्छ । जे जसो भए तापनि इतिहासलाई नर्कान भने सकिदैन ।

कालीगण्डकी उत्तर बाहिनी तटमा रहेको रानीमहल कलात्मक र आफैँमा सुन्दर थियो । त्यो मुख्य दरवार ४ तले र २४ कोठा भएको अभिलेख छ । दुई पोखरी र हरियाली वगैँचाले दरवारको आँगन सुन्दर देखिन्थ्यो । उत्तरतर्फको बुर्जाको जग काली गण्डकी किनारमै रहेको दरवार हातामा गङ्गा पार्वती र शिवको मूर्ति रहेको खण्डमुक्तेश्वर महादेवमन्दिर अवस्थित रहेछ । महल परिसरमा घोडा, तबेला, सुसारे घर, शीतलपाटी, भान्साघर, भक्तिनी घर, आदि छन् ।

मुख्य महलबाट कालीगण्डकी झर्ने उत्तरतर्फको सहायक भर्‍याङ् गण्डकीको छालले तानेर केही खुड्किला मात्रै झुण्डिरहेका थिए । उत्तर भागमा रहेका मठमन्दिर पनि गण्डकीतर्फको भाग तलबाट पानीले खोलेर ओडारमाथि त्राहीमाम्को अवस्थामा देखिए । टिकट काट्ने भाइ भन्दै थिए–“त्यो गण्डकीतर्फको भर्‍याङ् त सुसारेहरूले दरवारियाहरूलाई स्नान गराउन लाने प्रयोजनमा मात्र प्रयोग हुन्थ्यो रे । त्यो इतिहास मेटिन अब केही खुड्किला मात्र बाँकी छन् । मन्दिरपरिसर त पटक पटक झर्दैन, बाँधको राम्रो व्यवस्था हुन नसकेमा एकै भेलमा गल्र्यामगुर्लुम झर्छ ।”

दरवारको मुख्य प्रवेशद्वार सिँढीका कलात्मक बुट्टाहरू क्षतिग्रस्त थिए । दक्षिणतर्फको तत्कालीन सिपाही ब्यारेकमा रुखबुट्टा उम्रेका रहेछन् । पछिल्लो भाग दरवार शैलीमै बनेको भान्साघर, धारा र शौचालयहरू फोहरयुक्त देखिए । दरवारको तल्लो भागमा थुप्रै कोठा जस्ता संमरचना थिए तर फोहर भएको कारण हामी जान सफल भएनौँ । मुख्य दरवारभित्र पस्दा त्यस्ता कोठाहरू नभएर सत्तलजस्ता तेलिया इँटा छापिएका हलहरू र ह्वाङ्ग खुलेका झ्यालमात्र देखिए ।

त्यहाँ राखिएको सूचना बोर्डका अनुसार तुलसी÷पंचलीभैरव जे.भी. कन्सट्रक्सनलाई रु ३०७७८०८९.३४ मा(मु.अ.कर सहित) पुन:निर्माणको लागि ठेक्का दिइएको रहेछ । पुन:निर्माण गरेर कुहिएर चुहिएका जस्ता पाता झिकेर नयाँ जस्ताले छाना छाएको देखियो । पानी चुहिएर दरवारमा जडित ऐतिहासिक भर्‍याङ् र बाल्कोनीका संरचनामा क्षति पुगेको थियो । क्षतिग्रस्त भर्‍याङ्मा भिनिष्टा (प्लाई) ठोकेर हालसालै खुड्किला दुरुस्त बनाइएका थिए । अग्राखका बिम र दलिनहरूमा सामान्य क्षति भएका रहेछन् । हाल त्यस्ता क्षति पुगेका ठाउँहरूमा रङ्ग लगाइएका थिए । बजेट अनुसारको खासै मर्मत र रङ्गरोकन भने देखिएन ।

दरवार बाहिरको परिसरमा लगाइएका रङ्ग पानीले बगाएर टाटेपाटे विरूप पारेछ । त्यहाँ कार्यरत रहेका प्रहरी भाइहरू भन्दै थिए–“यो रङ्ग लगाएपछि वर्षात लागेकै थिएन । हिउँदकै पानीले रङ्ग बगायो । यो त पहिले भन्दा पनि झन् नराम्रो छ्याँके भएको हो । लगाउँदा त राम्रै थियो । पानी पर्‍यो स्वात्तै बगायो ।” अर्का प्रहरी भाइले थपे–“छाना छाइयो गनिमत मुख्य दरवार ओतिएछ । यो ब्यारेक र नदीतर्फका संरचना जोगाउन बाँध लगाई भर्‍याङ् पनि मर्मत गरिदिएको भए हुने ! सरहरू पत्रकार भए ब्यारेक र दरवार परिसरका संरचना र तिनका छानामा उम्रेका पीपल आदिलाई विस्थापन गरेर बचाउँनु पर्‍यो भनेर समाचार बनाइदिनुस् न सर ! फेरि यो ठाउँमा यस्तो भव्य महल कसले बनाउन सक्छ ?”

मैले उनका गहकिला कुरा सुनेर फेरि मुखतिर हेरेर सोधँे–“तपाइँ हवल्दार हुनुहुन्छ ?”
उनले हाँसेर भने–“सरलाई फुलीको ज्ञान रैनछ । म सही हुँ । हुन त यहाँ एकचारको दरबन्दी छ, दरबन्दीमा त हवल्दार नै छन् । म त बाइक लिएर निरीक्षणमा आएको । यो काली गण्डकीको सुनसान बगरमा हाम्रा केटाहरू के गर्दैछन् भनेर बेलाबेलामा यसो आउनु पर्छ । आउन पनि देखिहाल्नु भयो, बाटो कति जोखिम र जटिल छ सर ! मेरो पाइँटको गति हेर्नुस् न ! पछाडि ढाडसम्म हिलाम्य छ ।” उनी फरक्क पछाडि फर्केर आफ्नो हिलाम्य ढाड र पेटीमा सिउरेको लठ्ठी देखाए ।

मैले भनेँ–“माफ गर्नुस् सहीसाव साँच्चै मलाई सेना र प्रहरीको दज्र्यानी परिचय फुलीबाट थिएन र छैन ।”
उनले हाँसेर भने–“ल्य एचयदझि !”

त्यो आनन्दित ठाउँमा हामीले २ घण्टाभन्दा बढी घुमेर, रमेर नै बिताएका थियौँ । बढ्दो उमेरका मेरा छोराछोरी अत्यन्तै रमाएर माथिमाथि हरियाली पहाडतिर चढे । उनीहरूको जीवनमा त झन् पहिलो आनन्दको अनुभव हुनसक्छ । हामी हिड्न हतारियौँ । ड्राईभरले बगरमै गाडी घुमाए । मेरी छोरी मिसुता र छोरा छविन निक्कै परको झोलुङ्गे पुलमा गएर कालीगण्डकी र आसपासका हरिया डाँडाहरूको फोटो खिच्न मस्त भएछन् । ड्राईभर भन्न थाले–“आज लुम्विनी बस्न पुग्नु पर्छ । पाल्पामा नै हेर्नु घुम्नु पर्ने धेरै ठाउँ छन् । सबै नसके पनि दरवार सङ्ग्रहालय त भ्याउनु पर्छ । खाना खान पनि समय लाग्छ । नानी बाबुलाई बोलाउनुस् ! म हर्न बजाउँछु ।” नानी बाबुहरू पनि छिटै तल आए । त्यहाँबाट हाम्रो गाडी सिधै पाल्पा दरवारतर्फ लाग्यो ।

पाल्पा दरवार :
रानीमहलबाट १७ कि.मी दूरी पार गरेर हामी पाल्पादरवार सङ्ग्रहालय पुग्यौँ । पाल्पादरवारका निर्माता प्रतापशमशेर राणा रहेछन् । यो दरवार आफ्नो निजी आवास तथा प्रशासकीय भवन प्रयोजनका लागि चुना, सुर्की, गिट्टी, चाकु र मासको मिश्रणबाट वि.सं १९८२ मा पश्चिमी शैलीमा वर्गाकारको यो विशाल दरवारको निर्माण भएको रहेछ ।

तानसेन नगरपालिकाको क्षेत्रफल १३७३ वर्ग कि.मी. र जनसङ्ख्या २ लाखभन्दा बढी भएको बुझियो । सेन वंशका राजाहरूले १५औँ शताब्दीको अन्त्यदेखि पाल्पामा राज गरेका रहेछन् । प्रथम राजा रुद्र सेनले लगभग १५४९ देखि १५७५ सम्म राज गरेको अध्यावधिक रहेछ । सेन वंशीय राजाहरूले लगातार ३०० वर्षसम्म पाल्पामा राज गरेका र अन्तिम राजा पृथ्वीपाल सेनलाई १८०६ मा काठमाडाँै बोलाएर टाउको काटेर मारेको इतिहास रहेछ ।
पाल्पादरवारको सङ्ग्रहालयभित्र प्रथम राजा रुद्र सेनदेखि खड्गशमशेर महाराजसम्मका अनेकन समय उल्लेख गरिएका तस्विरहरू टाँसिएका थिए । तत्कालीन समयमा प्रयोग हुने राजकीय पोशाक, भाँडाकुँडा, युद्धमा प्रयोग भएका हतियार, जाँडरक्सी पार्ने सामान, ठेकी, मदानी, लेती, घुर्रो र काँसका भाँडावर्तन आदि थुप्रै प्राचीन सामग्रीहरू थिए । त्यस मध्ये घ्यूँकराई उल्लेखनीय लाग्यो ।

जीतगढी युद्ध र घ्यूँकराई :
घ्यूँकराई नामकरण भएको त्यो भव्य आकारको कराईले करिब २०० वर्ष पुरानो इतिहास बोकेको रहेछ । वि.सं १८७१ देखि १८७३ सम्म जीतगढीमा नेपाल र अङ्ग्रेज बीच युद्ध हुँदा नेपाली सेनाका फौजलाई घ्यूँ तताएर खुवाउन २० ईन्च उचाई र १५ फिट गोलाई भएको त्यो कराईको निर्माण भएको रहेछ ।

जीतगढी युद्धमा अङ्ग्रेजतर्फका कमाण्डर मेजर जनरल सुलिवान उड्ले ५ हजार फौज र तत्कालका शाक्तिशाली हतियार लिएर नेपालमाथि धावा बोलेका रहेछन् । नेपालका तर्फबाट फौजी नेतृत्व गर्ने कर्णेल श्री उजिरसिंह थापा रहेछन् । त्यही कराईको घ्यूँ खाएका हाम्रा बहादुर सिपाहीहरूले अङ्ग्रेजसेनाहरूलाई धेरैजसो हताहत गरी बाँकीलाई आत्मसमर्पण गराएर जितेको हुनाले त्यस किल्लालाई जीतगढी नामकरण गरिएको रहेछ । यो छोटो इतिहास पढेपछि तत्कालीन हाम्रा कर्णेल उजिरसिंह थापा र उनका मातहतमा युद्धरत जवानहरूप्रति आत्मैदेखि स्यालुट गर्न मन लाग्यो । त्यो कराईको पनि माया जागेर आयो कि के भयो फेरि एकपटक कराईलाई हेरेर टोलाएँ । जे होस् त्यो कराई र हाम्रा बहादुर एकअर्काका परिपूरक भएर शक्तिशाली अङ्ग्रेज फौजलाई परास्त गरेर हाम्रो देश नेपालको नाम कायम राखे । वर्तमान परिदृश्य आफैँमा उदाङ्ग छ ।

पाल्पादरवारको मुख्य प्रवेशद्वार बजारको केन्द्र भागमा पर्दो रहेछ । मुख्य पैतृकथलो भक्तपुर जिल्ला भई पाल्पामा तेस्रो पुस्ता बिताएका बयोबृद्ध बदी्रनारायण जोशीले भने–“लगभग १५४९ देखि १५७५ सम्म रुद्रसेन राजा थिए । उनैको पालामा बनेको यो आकर्षक बुर्जा र गोलघर !” भन्ने जनजिब्रोको कथन सुनाए । कालान्तरमा खड्गशमशेर जबरा तानसेनमा तैनाथी भई बस्दा उनको बग्गी छिराउन नसक्ने भएर त्यो पुरानो मूल ढोकालाई परिमार्जित गरी १२ह्३० को कलात्मक काठको ढोका र मुगल शैलीको गोलघर र बुर्जाघरको बद्रीनरसिंह कुवरले डिजाईन गरी १९११ देखि १९३० को अवधिमा निर्माण गराएको लिखित तथ्याङ्क रहेछ ।

यो दरवार २०६२ साल माघ १८ मा तत्कालीन माओवादीले क्षति पुर्‍याएको र २०६४ सालमा पुन:निर्माण गरेर सङ्ग्रहालयका रूपमा आम सर्व–साधारणका लागि खुला गरिएको रहेछ । दरवारभित्र अनेक चोक, बार्दली, बाल्कोनी र कलात्मक झ्यालढोका र टुँडालहरू देख्न पाइयो । १९८३ मा प्रतापशमशेरले बनाएको त्यो दरवार १०० वर्षतिर उन्मुख रहेपनि ज्यूँकात्यूँ देखिन्छ । सबैभन्दा आकर्षक त आठकुने गोलघरले बजारको शोभा बढाएको देखियो । यो गोलघरको केन्द्र भागमा रहेको मुख्य द्वारलाई प्रतापशमशेरको बग्गी छिर्ने बनाएपछि यसलाई बग्गी ढोका भन्ने नामकरण गरिएको रहेछ ।

हामीलाई पाल्पाका अन्य भ्रमणीय क्षेत्र पहिचान गरी घुम्न मन थियो तर हामीले समयतालिका नै त्यस्तो बनायौँ जुन तालिका अनुसार त्यै दिन लुम्विनी पुग्नै थियो । घडी निरन्तर चलेर हामीलाई हिड्ने सङ्केत दिदै थियो । स्थानीय एउटा साहुले पाल्पाका अनेक घुम्ने हेर्ने ठाउँको नाम लिए । ती ठाउँको नाम टिप्न मलाई सहज भएन । अन्तमा उनले भने–“धेरै टाढा जान भ्याउनु हुन्न भने यहाँ माथि नजिकै टुडीखेलमा रहेको विशाल करुवा हेरेर जानुस् जुन करुवाले पाल्पाको मौलिक परिचय बोकेको छ !”

हामी गाडी फनक्क फर्काएर टुडीखेलतर्फ हिड्यौँ । साँच्चै टुडीखेलमा पाल्पाको प्रख्यात करुवाले आफ्नो भव्यरूप प्रदर्शन गरेको रहेछ । अग्लो स्तम्भको माथि बसेर करुवाले पाल्पाको परिचय दिदै रहेछ । पाल्पाको निरीक्षण गर्न अग्लो ठाउँमा बसेको त्यो भव्य करुवा बजारको नजिकै भएर पनि हाम्रो यात्रा अवलोकनबाट झण्डै छुटेछ । हाँकु साहुलाई धन्यवाद दिदै हामी लुम्विनीतर्फ प्रस्थान गर्‍यौँ ।

लुम्विनी :
पाल्पाबाट लुम्विनीको दुरी ४६ कि.मी. रहेछ । पोखराबाट आउने बाटोका तुलनामा अलिक सहजै लाग्यो । पाखेभीर भए पनि डरलाग्दा पहरा कमै भेटिए । कही कतै उराठिला पाखा देखिए पनि अधिकांश पाखाहरू हरियालीपूर्ण नै देखिए । जङ्गली फूल र लाली गुराँसहरू बाटाका आसपासमा देखिएनन् । बरु धँगेरा, पाखनवेद आदि फुलेका देखिए । हामी केराबारी बजारमा खाना खाएर झुम्साघाट हुँदै तिनाउ खोलाको तिरैतीर बुटवल बजार झर्‍यौँ ।

त्यो दिनको समयले जति साथ दिन्छ, लुम्विनीका केही ठाउँ घुमेर उतै वास बस्ने विचारले हामी बुटवलबाट सिधै लुम्विनी हानिएका थियौँ । लुम्विनी पुगेर ह्वाइट गुम्बाको मनोरम दृश्यमा डुबिरहेका बेला हाम्रा पूर्वपरिचित ममता होटलका मालिक श्री कमलराज घिमिरे र उनकी धर्मपत्नी अम्बे घिमिरेले भैरहवा फर्केर आउन पालैपालो फोन गर्नु भयो । हामी लुम्विनीको कैलाश होटलमा बस्ने तयारीमा थियौँ । कमलराज घिमिरेको परिवार हामी काठमाडाँैमा बस्दा एउटै भान्साको खाना खाएर बसेको सम्झना स्वरूप पनि ती घिमिरे परिवारको अनुरोधलाई नर्कान नसकेर त्यो गोधुली लुम्विनीलाई भोलि आउने वाचा गरी भैरहवा फर्कन बाध्य भयौँ ।

निकै अबेर गरी भैरहवा पुगेका हामीलाई ममता होटल खोज्न निकै कष्टकर भयो । अन्तत: होटल भारत–नेपाल सीमानानिर हाम्रो भन्सार नजिक रहेछ । कमल धिमिरे दाम्पतिसँग पुराना कुरा र नातागोता सम्बन्धि निकैबेर भलाकुसारी भयो । त्यसरी २०७६ माघ ८ गते हामी अचानक भैरहवाको ममता होटलमा वास बस्न पुग्यौँ ।

भोलिपल्ट ९ गते सबेरै फेरि लुम्विनीतर्फ प्रस्थान गर्‍यौँ । मायादेवी मन्दिर परिसरको मुखमै रहेको अखण्ड दीप अचम्मको थियो । यो दीप तत्कालीन श्री ५ अधिराजकुमार ज्ञानेन्द्रवीरबिक्रम शाहबाट अन्तराष्ट्रिय शान्ति वर्ष ई.सं १९८६ (वि.सं २०४३ साल कार्तिक १५ गते रोज ७) को शुभ अवसरमा शान्तिको प्रतीक त्यो अखण्डदीप प्रज्वलित भएको रहेछ । प्रज्वलित समयदेखि सो दीप आजसम्म अखण्ड बलिरहेको पुष्टि छ ।

मायादेवीमन्दिर :
लुम्विनी बगैँचा परिसरको कुल क्षेत्रफल २.५६ बर्ग कि.मी उल्लेख भएको रहेछ । सर्वप्रथम मायादेवीको दर्शन गर्न हामी मन्दिर प्रवेश गर्‍यौं । आधुनिक मायादेवीमन्दिर भित्र प्राचीनकालमा निर्मित मन्दिरको भग्नावशेष स्वरूप पुरानो मन्दिरको जग सुरक्षित राखिएको थियो । मन्दिरको मध्य भागमा लमतन्न मान्छे सुतेको आकारमा कुनै वस्तु देखियो । त्यसलाई माथिबाट कपडाले छोपेको रहेछ । त्यहाँ कार्यरत गार्डले भने–“मायादेवीको शरीरको आकृति त्यै हो !” ती गार्डसँग अरु पनि धेरै कुरा सोध्ने मन थियो तर त्यो शान्ति क्षेत्र भएकोले गार्डले अरु बोल्न चाहेनन् । त्यो सुतेको आकृतिमाथि स्वदेशी तथा विदेशी विभिन्न मुलुकका मुद्रा, खदा, सेतो र प्याजी फूलहरू परिक्रमा गर्ने ठाउँबाट तल गहिरोमा रहेको मूर्ति माथि चढाउँदै घुम्ने भक्तजनको भीड थियो । त्यही भीडमा पसेर हामीले पनि अरुले दर्शन गरे जस्तै गरेर दर्शन गर्‍यौँ ।

ठ्याक्कै बुद्ध जन्मेको पत्थर भनेर मन्दिरभित्रै सिसामा राखिएको थियो । त्यसैको उतापटि जन्मने बित्तिकै सातपाइला हिडेको भनेर पाइलाका सातै कदम बनाइएको रहेछ । मैले कतै पढेको थिएँ, जङ्गलको बीचमा पोखरी थियो । मायादेवी त्यहाँ पुग्दा गर्मी भएर त्यो पोखरीमा न्वाएकी थिइन् । न्वाएर ढुङ्गामा उक्लेर बस्न खोज्दा प्रसूति पीडाले सालको हाँगो समातेर उभिएको अवस्थामा शरीरको दायाँ भागबाट भगवान सिद्धार्थ गौतम बुद्धको अवतरण भएको थियो । यी पढिएका कथा–कथन कतिसम्म सत्यमा आधारित छन्, त्यो त बुद्ध जीवनी वा वंशावलीका अभिलेख ज्ञाताले मात्र भन्न सक्लान् ।

बुद्धले ज्ञान प्राप्त गरेको बोधगयाको पीपललाई प्रतीकात्मक स्वरूप मानेर हाम्रो लुम्विनीमा पुस्करिनी पोखरीसँगै(जहाँ सिद्धार्थ गौतम बुद्ध जन्मनु अगाडि मायादेवीले स्नान गरेको र बुद्ध अवतरण भएपछि पनि बुद्धलाई पहिलो स्नान गराएको उल्लेख छ )रहेको पुरानो पीपलको रुखलाई पवित्र बोधिरुख नामकरण गरिएको रहेछ । त्यो रुखलाई केही छट्टुहरूले बुद्ध जन्मेको रुख र चौतारो भनी भ्रममा पारेर पैसा ठग्दा रहेछन् । एउटाले आएर–“बुद्ध जन्मेको चौतारो र पीपल त ऊ त्यो पारीको पो हो !” भनेर अर्को रुख र चौतारो देखाएर फेरि भ्रम फैल्यायो । ३० वर्ष देखि ६५ वर्ष उमेरसम्मका ठगहरू बुद्ध जन्मेको ठाउँ थाहा पाउने आधिकारिक विज्ञ भएर पर्यटकसामु उभिन आएको देख्दा अचम्म लाग्यो ।

अखण्डदीप

बोधि रुखको फेदमा केही फोटा र पूजा गरेका धुपअवीर देखिन्थे । स्वदेशी भन्दा धेरै विदेशी मुद्रा छरिएका थिए । त्यसै रुखको छेउमा एउटा अद्भूत मानिस गिलसमा पानी, केही किताब, माला र झोलाझोली लिएर बसेको थियो । हेर्दा कालो वर्णको टाउकोमा कान छोप्ने उलेनको टोपी र त्यसमाथि अनेक रङ्गका टाला, धजा बाँधेको थियो । राता ठूला आँखा, काला ल्याप्रिएका गँजेडी ओठलाई रङ्गीन बनाउन होला मुखमा पानको बुजो हालेर मुखभरि पिच र फिँज भरेर आँखा मात्र पल्टाइ रहन्थ्यो । बुद्ध कहाँनिर जन्मेका हुन् आधिकारिक तथ्याङ्क के थियो हामी एक दिन घुम्न जानेलाई थाहा हुने कुरै भएन । मेरो मनमा बुद्ध जन्मेको यही हो र होइन भन्ने प्रश्न र उत्तरका बीचमा अन्तरद्वन्द चल्दै थियो । उता छेउमै बसेको त्यस मानिस बुद्ध त्यही पीपलका जरामा जन्मेका भनेर पैसा चढाउन अभिप्रेरित गर्दै थियो । मानिसहरू बुद्ध अवतरण भएको पवित्र भूमि मानेर कोही घोप्टो परेर ढोगी रहेका थिए । कोही माला जपेर बुद्धमन्त्र पढ्दै थिए ।

एउटी विदेशी महिलाले पनि त्यहाँ पैसा चढाइन् । त्यो अद्भूत मानिसले ती महिलालाई आफूनिर बसाएर के–के भन्यो थाहा भएन । कागजमा चामलका थुप्रा बनाएर एउटा गोलो बटुको लठ्ठीले बजायो । महिलाले आफूसँग भएको बाला, सिकी्र, हातमा बेरेको गेडी माला, डटपेन, पासपोर्ट, भीसा र भएभरका विदेशी पैसा त्यसले भने बमोजिम झिकेर थुपारिन् । तिनले थुपारेका विभिन्न दरका मुद्रा हेर्दा उनी जापानी नागरिक रैछिन् भन्ने प्रष्ट हुन्थ्यो । अरु देशका नागरिकलाई पनि सायद त्यसले त्यसै गर्दो हो । त्यसका पुस्तक ठेलीले थिचिएर रहेका अनेक देशका डलर पाउण्ड देखिए । बेला बेलामा त्यो मानिस पीपलका जरामा छरपष्ट भएका विदेशी, स्वदेशी नगदतर्फ आँखा घुमाई रहेको थियो ।

मैले त्यही मानिसको तमासा र तमासामा तानिएका मानिसहरूतर्फ हेरेर केही समय बिताएँ । ती जापानी महिलाले त्यो मानिसका अगाडि थुपारेको नगद, जिन्सी अन्तमा के गर्‍यो त्यो हेर्न र जान्न समयले साथ दिएन । हामी त्यो तमासाको निचोडमा नपुग्दै त्यहाँबाट हिड्न बाध्य भयौँ । पर्यटकहरू आउने र पैसा चढाउनेको उपस्थिति बढ्दै थियोे । मेरा श्रीमती र नानीबाबुहरूले पनि १०–२० चढाएर आफ्नो आस्था अनुसार दर्शन गरे । हामीले त्यो पीपल चौतारोको परिक्रमा गर्दा पचासौँ माग्नेहरू देख्यौँ । कसै कसैका भागमा त एकमुठी चामल र पाँच रुपैयाँ पनि थिएन । उता अनाधिकृत सिङ्गो व्यक्ति अनेक ढोङ् गरेर हजाराँै हजार झार्दै थियो । यो लाखौँ लाख स्वदेशी, विदेशीको आस्थामा रहेको लुम्विनी क्षेत्र त्यसमा पनि मायादेवी मन्दिरको काखमा बसेर एउटा पाखण्डी, पर्यटकहरूलाई गुम्राहमा पारिरहेको थियो । त्यो चर्तिकला देख्दा मलाई अलिक नौलो लाग्यो ।

यदि बुद्ध त्यही पीपलको चौतारोमा जन्मेकै हुन् भने त्यसको आधिकारिक सुचाङ्क बोर्ड राखेर नेपाल सरकारको प्रतिनिधि बस्ने व्यवस्था हुनसके त्यस्ता ठगहरू बिस्थापित भई सरकारी राजस्वसमेत बृद्धिमा केही टेवा पुग्ने थियो भन्ने जस्तो लाग्यो । त्यसपछि हामीले मायादेवी परिसरमा रहेको अशोकस्तम्भ, प्राचीन स्तुपा–सभाहलहरूका भग्नावशेष, अन्य थुप्रै ससाना स्तुपा, पोखरी आदिको अवलोकन गर्‍यौँ ।

गाईड गर्ने एकजना भाइ आएर लुम्विनीमा घुम्ने सहस्र ठाउँको नाम लिए । हामीले गाईडको पछाडि नलाग्ने अठोट गरेर मायादेवी मन्दिर परिसरमा केही फोटो खिच्ने रहर पुर्‍याएर त्यहाँबाट विभिन्न देशहरूले बनाएका स्तुपा हेर्न तर्फ लाग्यौँ ।

पहिलो दृश्य भारतीय कलामा बनेको गुम्वा अवलोकन गर्दै क्रमश: श्रीलङ्का, कम्बोडिया, जापान, मलेसिया, बेल्जियम, जर्मन, भुटान, थाईल्याण्ड, मेनमार्क, नेपाल, चीन र कोरिया आदि देशद्वारा निर्मित स्तुपाहरू घुमेर आफ्ना रुचि र उमेर अनुसारका फोटा खिचेर रमायौँ । विभिन्न देशका कला झल्कने स्तुपाहरूको पृष्ठभूमिलाई आफ्नो क्यामरामा कैद गर्दै गयौँ ।

विभिन्न मित्रराष्ट्रहरूले सिद्धार्थ गौतम बुद्ध नेपालमै जन्मेका रहेछन् भन्ने तथ्य–तथ्याङ्क, अध्ययनलाई मनन् गरेर ठूलो लगानीमा स्तुपा निर्माण गरेका रहेछन् । यो बुद्ध भूमिमा ठूलो क्षेत्रफलको हातामा बनेका गुम्वा र त्यसका परिसरभित्र अवस्थित पार्क आवास त्यसैगरी अन्य फाउन्टेन, फोहोरा आदि संरचना हेर्दा लगानीको हिसावले नेपाल सरकारसँग तत्–तत् देशका सरकार वा बुद्ध धर्मालम्वी समुदाय बीच के कस्ता सम्झौता भएर त्यस्ता गुम्बा त्यहाँ बने ? त्यो जिज्ञासा जिज्ञासामै रह्यो । हामी घुमेका गुम्बा सबै आ–आफ्नै कला र शैलीमा सिंगारिएका थिए । त्यस्तो अद्वितीय कला प्रस्तुत गर्ने डिजाइनकर्ता र कालिगढहरूलाई मनैदेखि हामीले पनि धन्यवाद भन्यौँ ।

थाईस्तुपा : थाईस्तुपाले पनि एक से एक कालिगढिको नमुना नै प्रस्तुत गरेको रहेछ । त्यस गुम्बाको अवलोकनमा रमाएर फर्कदै गर्दा त्यहीँ भर्‍याङ्गको खुड्किलामा कुकुरकै जिउमा मिल्ने कपडा लाएको मोटो कालो कुकुर मार्वलको चिसो शीतमा सुतेको देख्यौँ । त्यहाँका सुरक्षा गार्डले भने–“त्यसलाई नचलाउनुस् ! त्यसले रातभरि आँखा झिमिक्कै नगरी डिउटी गर्छ । उज्यालो भएपछि हामीलाई उसको अभिभारा सुम्पेर मस्त सुत्छ । त्यसले त हाम्रो रातको डिउटी पुरै जिम्मा लिएको छ ।”

त्यसैको थोरै तल एउटी थाई महिला विभिन्न प्रकार र स्वादका प्राउनजस्ता थाईमिठाई बेच्न बसेकी थिइन । तिनै गाईले त्यो थाईमिठाई र महिलाको बारेमा विज्ञापन गरे– “त्यो पर बस्छन् यी दिदी बहिनी महिलाहरू ! बैनी उतै कोठातिर बसेर यी अनौठो स्वादका खाद्य वस्तु बनाउँछिन् । यी दिदी चाहिँ यहाँ बसेर हजुरहरू जस्तै घुम्न आउनेलाई बेच्छिन् । थाईल्याण्डमा आफ्नो एकमात्र भाइ लागुपदार्थ सेवनले बिग्रियो भनेर भाइ सुध्रिने आशा लिएर नेपाल पसेका यिनीहरू उल्टै भाइ नेपालमै स्म्याक काण्डमा समातिएर जेल परेपछि यसले दश बाह्रबर्षदेखि नेपालमा बस्ने कागजात मिलाउन दैनिक चार सयका दरले हुने मासिक रकम नेपाल सरकारलाई बुझाएर, यही बेचेको आम्दानीले गुजारा गर्छन् यिनीहरू ! खाएर हेर्नुस् न हजुर ! चाखेको पैसा लिन्नन् ।”

ती गार्डले तिनको जीवनी सुनाएपछि त्यो हस्तनिर्मित तयारी खाद्य अलग अलग स्वादका दुई थरी किनिदिऊँ लागेर किन्यौँ । साच्चै अनौठो स्वादका न नम्किन न मिठाई ।

फरक फरक गुम्बा जाने फरक फरक बाटा रहेछन् । सवारी साधन नभई घुम्न सक्ने सम्भावना थिएन । हामी गाडीमा बसेर हिड्न खोज्दा उनै थाई गुम्बाका गार्डले भने–“हजुरहरू आजै फर्किने भए सबै गुम्बा घुम्न सक्नु हुन्न । यहाँ निर्माणाधीनका स्तुपा छाडेर तयारी स्तुपाहरूको सङ्ख्या नै ३१–३२ वटा छन् । एउटा स्तुपालाई आधा घण्टाको समय जोडेर हिसाव गर्दा हजुहरूको दिन त यतै बित्छ । आफ्नो समय हेरेर घुम्नु होला ! तर जर्मन गुम्बा हेर्न नभुल्नु होला ।” गार्डले जर्मन गुम्बालाई विशेष भनेपछि अन्य गुम्बा भ्याएसम्म घुमेर हामी ढिलो नगरी जर्मनगुम्बा प्रवेश गर्‍यौँ ।

जर्मनस्तुपा :
जर्मनगुम्बा साच्चै विशेष रहेछ । अरु गुम्बाको तुलनामा यसको भू–क्षेत्र फराकिलो र अन्य संरचनाले पनि ठूलै भू–भाग ओगटेको रहेछ । कलाकारिताले भरिपूर्ण उक्त गुम्बा आफैँमा सिंगारिएर पर्यटकहरूको ध्यान तान्ने प्रतिष्पर्धामा उत्कृष्ट स्थानमा थियो भन्नुभन्दा अर्को शब्द लेख्न सकिन ।

त्यो गुम्बामा अनेकन पार्क, पोखरी, फोहोरा आदि त थिए नै, त्यो भन्दा उल्लेख्य बुद्धअवतरण, बुद्धचरित्र र अन्त्य आदि झल्कने चित्रमूर्तिहरू क्रमबद्ध राखिएका थिए । त्यसमा पनि सिद्धार्थ गौतमले राजदरवार परित्याग गरेको परिदृश्यले पर्यटकलाई एकछिन् स्तब्ध बनाएको थियो । राजकुमार सिद्धार्थले तपस्या गरेर ज्ञान प्राप्त गरेको चित्र विचित्रका परिघटना हेरेर जीवन र जगतसँगको अन्तर सम्बन्धका अन्तर द्वन्दको हुटहुटे हुन्डरी बोकेर जर्मनस्तुपाबाट हामी फरक्क फर्कियौँ । यसरी हतारमै भए पनि ११,१२ गुम्बा घुमेर फोटाका पृष्ठभूमि कलात्मक गुम्बाका दृश्यले सिंगारेर लुम्विनीबाट हामी चितवनको सौराह तर्फ माघ ९ गते प्रस्थान गर्‍यौँ ।

लुम्विनीबाट प्रस्थान गरेपछि लुम्विनी घुमफिरमा छुटेका केही महत्वपूर्ण स्थलका बारेमा घडी समयको परिसूचाङ्कलाई दोष दिदै गन्तव्य चितवनतिर हाम्रो गाडी हुँइकिदै थियो । हाम्रो मनमस्तिष्क हामी घुमेका रमणीय दृश्य–परिदृश्यतर्फ हुँइकिदै थियो । मानिसले राम्रै राम्रो हेर्न र वर्णन गर्न चाहन्छ । क्यामराको लेन्स जति मिलाए पनि क्यामेराले राम्रो कुरालाई टपक्क टिपेर कैद गर्छ । दृश्यावलोकनमा देखिने कमीकमजोरी, सुधारोन्मुख व्यवस्थापन पक्षलाई न कुनै क्यामराले छायाङ्कन गर्न सक्छ, न मानिसका मानसपटलले टिपोट गरेर क्यानभासमा कर्‍याङ्कुरुङ्, चित्र चित्राङ्कन गरेर बुद्धको बौद्धिक समाजलाई अवगत गराउन सक्छ । लेखक आचार्यहरू पनि आफूले देखेर दिमागले अह्राए बमोजिम किनाराकै साक्षी बनेर लेख्दा हुन् ।

मेरो दिमाग उतै लुम्विनी वागतिरै घुम्दै थियो । ड्राईभर सीतारामले गाडी घ्याच्च रोकेर भने–“लौ अङ्कल ! दुम्कीबास यही हो । ऊ त्यो चौधरीको प्रख्यात होटल । खसीको मासु, लोकल कुखुराको मासु, लोकल माछा र यहाँ त बटाईको मासु पनि पाइन्छ । लौ खाना यहीँ खाएर जानुपर्छ । आफ्नो इच्छा र रुचि बमोजिम अडर गर्नुस् ! उता साकाहारी ठूलो अण्टीलाई त्यसैमाको चोखो तरकारी, दाल र दहीको पनि व्यवस्था हुन्छ ।” हामीले पनि ड्राईभरको विज्ञापन अनुसार दुम्कीवासको चौधरी होटलमै खाना खायौँ । त्यहाँको खाना बनारसको लड्डुजस्तै थियो ।

खाना नखानुभन्दा खाना खानु आत्मा सन्तुष्टि हो । खाना खाएर गाडी लिएर हिड्यौँ । त्यही आत्मसन्तुष्टिले म भुसुक्कै निदाएँछु । हामी धेरै बाटो हिडिसकेछौँ । मेरा छोराछोरी श्रीमतीहरू सबै कराए–“शाश्वत धाम !” ऐले चितवन तरेर सौराहा पुग्न त २५ कि.मी. बाँकी नै रहेछ ।

शाश्वतधाम :
शाश्वतधाम त नवलपरासीको महेन्द्र हाईवेमै पो रहेछ । ड्राईभर सीतारामले गाडी रोक्दै भने–“लौ ! अङ्कल उठेर मुख धुनुस् ! यो हेर्न छुटाउनै नहुने धाम हो । अब त हामी हाम्रो गन्तव्य सौराहाबाट जम्माजम्मी २५ किलोमिटर पश्चिममा आई पुगेका छौँ । नारायणी तर्नमात्र देर अनि त आज त्यहाँ पुगेर वासै बस्ने मात्र न हो ।”

हामी ‘चौधरी ग्रुप अफ फाउण्डेशन’ द्वारा निर्मित शाश्वत धामको गेटमा पुगेर प्रवेशशुल्क रसिद हेर्दै भित्र पस्यौँ । प्रवेशद्वारमै अहिल्यै बोल्लान् कि जस्ता गणेश भगवानको आलिशान मूर्ति रहेछ । छेवैमा भित्र भिजिट गर्ने भौतिक संरचनाको पूर्व ज्ञातव्य सूचना बोर्ड राखिएको रहेछ । त्यसैको आधारमा टिपोट गर्दा त्यो धामको क्षेत्र ७ विगाह रहेछ । त्यो धाम भित्र घुम्दै जाँदा उल्लेख्य गुरुकुल, योगाकक्ष, अण्डरकग्राउण्ड भित्र अनेक देवी, देवताका सङ्ग्रह भण्डार नेपालमा पाइने विभिन्न आकार प्रकारका शालीग्राम, अनेक धार्मिक तीर्थस्थलको माटो, बालुवा, शङ्ख र धार्मिक ग्रन्थठेली आदिको ठूलै सङ्ग्रहालय देखियो ।

निर्मल जलयुक्त पोखरीले परिवेष्ठित भव्य शिवमन्दिर, बुद्धको जीवनीमा आधारित बृत्तचित्र कक्ष, बृन्दावन परिलक्षित श्रीकृष्ण गोपीनी लिला, पानीका फोहोरा, सुन्दर फूलयुक्त स्वस्तिक आकारका बगौँचा र सातघोडे आकर्षक सूर्यमूर्ति आदि प्रमुख आकर्षक लागे । त्यसको पृष्ठ भागमा पनि भजन कक्ष , पोखरी, मठमन्दिर र गौशालाहरू बन्दै छन् भन्थे, समय छोटिदै गएकाले हामी अग्रभागमा घुमेर घडीको ईशारा अनुसार सौराहा तर्फ हिड्यौँ ।

सौराहा :
हाम्रो गाडी चितवनतर्फ लाग्यो । गाडी विस्तारै चल्दै थियो । ड्राईभर सीताराम फोनमा कुरा गर्दै थिए–“एक्स आर्मी गेष्टहाउस एण्ड रेष्टुराँ ? अनि दाइ ! फोन नम्बर भन्नुस् त ! अँ, ए ! ए !! फोन नम्बर टिपेँ ! अनि त्यो होटलका सञ्चालकको नाम नि ? धर्मराज न्यौपाने ? ए ! उनी एक्स आर्मी हुन् ? ए ! ल दाइ धन्यवाद ! ए तँ भोले पो होस् ? जा मोरा ! अघिदेखि दाइ दाइ भने, चुपलाग मोरा ! त्यहाँ श्याम दाइ हुनुहुन्न ? ए, ल ! ल !! फोन राख ! ओए भोले फोन नम्बर त ठीक भनिस् नि ? नत्र ! खालास नि फेरि ! हा..हा..हा..फटाहा मोरा !”

हाम्रो गाडीले नारायणी तरेर चितवन प्रवेश गर्‍यो । बाटोमा मानिस र गाडीको भीड बाक्लिदै गयो । सीतारामले एक हातले मोवाईल च्यापेर दु:खले बारबार नम्बर मिलाए । निकै बेरको प्रयास पछि–“हेलो ! हजुर, यो एक्स आर्मी गेष्टहाउस हो ? ए ! हजुर को बोल्नु भयो ? ए ! ए !! न्यौपाने सर ! आजैको लागि वास बस्न खोजेको, हाम्रो गेष्टहाउसमा खाली होला ? हामी जम्मा ६ जना, ३ पुरुष ३ महिला । हामीलाई २ वटा रुम भए हुन्छ । बेड त अलग अलग नै चाहियो नि ! अँ लेडिज एकातिर जेन्स एकातिरै बस्ने हो । लोकेशन भन्नुस् त ! ए ! गैँडाको मूर्ति नभेटेसम्म भित्र आउने, अनि कता लाग्ने ? गैँडालाई दायाँ पारेर बायाँतिरको अलिक ठाडो रोड ? ए ! उकालोको बायाँ साईडमा ल ! ल !! आउँदै छौँ ।”

हामी होटलमा पुग्यौँ । कोठामा बसेर एक एक गिलास तातो पानी खाँदैमा होटल साहुकी छोरी बोलाउन आइन् । हरेक साँझ त्यहाँ थारु सँस्कृति झल्कने नाच हुँदोरहेछ । थोरै हिडेर माथि नाच हेर्न गयौँ । मयूर नाँच अलिक केही विशेष थियो । अरु थारु पहिरनमा उनीहरूको मौलिकतामा आधारित नाचहरू देखाइएका थिए । जे होस् त्यो साँझ रमाइलै भयो ।

नाँच हेरेर हामीहरू राप्तीको किनारतिर टहलिन गयौँ । बाटोमा ठाउँ ठाउँमा भाडाका साइकल पसलहरू यत्रतत्र थिए । पर्यटकहरू ती भाडाका साइकलमा सौराहा बजार वरिपरि निश्चित समयको अवधिभर घुमेर नदीकिनारको मनोरम दृश्य हेर्दा रहेछन् । मेरा छोराछोरीले पनि भाडाको साइकल हाँक्ने रहर गरे । साँझको समय र सडक पनि अँध्यारो भएकोले यो अपरिचित ठाउँमा साइकल लिएर घुम्न नजाऊँ भन्दा अल्लारे छोराछोरीहरूले बालहट गरे । विशेष गरी मेरी छोरी मिसुता त झन् रिसाएर उग्र भई बम्–बम् गर्न लागी । उनीहरू साइकल लिएर अँन्धकारमा अँन्धाधुन्ध साइकलमा कुद्न थाले । अब कता के हुने हो ? हामी किंकर्तव्यविमूढ भएर सडकको किनारैकिनार तलमाथि गरी रह्यौँ । छोराछोरी अँन्धकारमै कता हराए ! ड्राईभर सीतारामले म खोजेर ल्याउँछु भने, हामी थकित भएर होटलतिर गयौँ ।

हामी होटल पुगेर बेचैनीले छोराछोरीको बाटो हेर्दै थियौँ । एकछिन् पछि होटल सञ्चालक धर्मराज न्यौपानेले खाना तयार भयो भन्दा न भन्दै सीतारामले छोराछोरी लिएर टुप्लुक्क आइपुगे । हामीले सीतारामलाई धन्यवाद भन्यौँ । हामी खाना खाएर समयमै ओछ्यानतिर लाग्यौँ ।

२०७६ माघ १० गते बिहानै चितवन राष्ट्रिय निकुञ्ज जानको लागि जङ्गल सफारीको खुल्ला जीप चढ्यौँ । यो निकुञ्ज चितवन जिल्ला रत्ननगर नगरपालिका भित्र पर्दोरहेछ । यसलाई नेपालको पहिलो निकुञ्ज पनि भन्दारहेछन् । यसको क्षेत्रफल ९३२ वर्ग कि.मी. उल्लेख भएको देखियो । यस निकुञ्जको स्थापना २०२९ सालमा भई २०४० सालमा विश्वसम्पदा सूचिमा सूचीकृत भएको रहेछ ।

हामी बसेको होटल साहुकी छोरीले गाइडको लाइसेन्स लिएकी रहिछिन् । उनी नै गाइडको रूपमा हामीसँग गएकी थिइन् । ती नानीले गाइडको शैलीमा आफ्नो परिचय दिँदै सफारीको वर्णन गर्न थालिन्–“यो जङ्गलमा ७० प्रतिशत सालका रुखहरू छन् । जीव–जनावरहरूमा गोमन, अजिङ्गर र सत्र किसिमका अन्य जातका सर्पहरू छन् । थुप्रै घरियाल, गोही, टाटेबाघ लगायतका ६८ किसिमका स्तनधारी जनावरहरू छन् ।

सिजन अनुसार यस्ता जीव–जन्तु घटबढ हुने क्रम जारी नै रहन्छ । यो आरक्षणमा अहिलेसम्मको तथ्याङ्क अनुसार ६३७ जातका चराहरू छन् । स्लोथ् वियर अर्थात अल्छे भालुको सङ्ख्या २०० देखि २५० सम्म रेकर्ड गरिएको छ । यहाँ फ्याउरे, जङ्गली बिराला, मलसाँप्रा, ब्वाँसा र स्यालजस्ता जन्तु पाइन्छन् ।

ऊ त्यहाँ हेर्नुस् न ! मयूरका बथानहरू ! त्यो पुच्छर फिँजाएर नाच्नेचाहिँ भाले मयूर हो । सादा देखिने सबै पोथी हुन् । आजभोलिको सिजन मयूरका प्वाँख झर्ने समय हो । अहिले जङ्गलमा जताततै मयूरका प्वाँखहरू भेटिन्छन् ।”

मेरा छोराछोरीहरू एकै स्वरले–“ऊ त्यो के हो ?” भनेर कराए । मानिसको आवाज सुनेर ती चरी रहेका जनवारहरू झाडीभित्र पसेछन् । गाइड नानी–“ए ! बाबुनानी हो ! विस्तारै बोल, मान्छेको आवाज सुनेपछि यिनीहरू जङ्गलभित्र पस्छन् । सजिलैसँग हेर्न पाइँदैन । ती तर्सेर भागेकालाई रतुवा भन्छन् । यिनीहरू धेरै भेटिने ठाउँ अझ अगाडि आउँदैछ ।” हामीले त गाइड र छोराछोरीको संवाद मात्र सुन्यौँ । के देखे ? कता गयो ? हामीले थाहा नै पाएनौँ ।

गाइड नानी विस्तारै बोलिन् –“ऊ त्यो हेर्नुस् ! जरायाको जेरै रहेछ । यिनीहरूलाई अक्सर जमातमा देख्न सकिन्छ । ती लामा सिंङ् भएका जति सबै भाले जरायोहरू हुन् जसलाई बाह्र सिंङे पनि भन्छन् । यिनीहरूका सिङ्का हाँगा गनेर जरायोको उमेर मापन गरिन्छ । अहिले गैँडा र हात्ती देखिएनन् । ऊ त्यो माटो खनेर माटैमा सुतेका सबै बँदेलहरू हुन् । यिनीहरू बाह्र थुने र अठार थुने जातका हुन्छन् । बाह्र थुनेले बाह्रैवटा र अठार थुनेले अठारैवटा बच्चा जन्माउँछन् । यहाँ धेरै जसो अठार थुने भन्दा बाह्र थुने बँदेल धेरै भेटिन्छन् । टाटे हरिण चाहिँ जङ्गलमा जताततै भेटिन्छन् । अन्य हरिणको तुलनामा यिनीहरूको सङ्ख्या धेरै छ ।”

हाम्रो सफारी जीप विस्तारै जङ्गलभित्रका साना–साना बाटाहरूमा गुडिरहेको थियो । हामीसँगै सफारीमा रहेका सीतारामले हतारिदै भने–“ऊ ! ऊ !! चितुवा !” सबै जना–“खै ? खै ? कानेर ?” सीताराम–“जा….!! फुत्तै भाग्यो !” कता भाग्यो खै हामीले चाहिँ पत्तो पाएनौँ । गाइड नानी–“चितुवा र टाटे बाघ त भेटिन्छन् ।” मैले थपें–“सिंह चाहिँ ?” गाइड नानी–“हाल नेपालमै सिंह पाइदैन ।” मैले–“कहीँ कतैबाट ल्याएर पनि नेपाल सरकारले जगेर्ना गरे हुने” भनेँ, ती नानी केही बोलिनन् ।

हाम्रो जीप अलि अगाडि पोखरी छेउबाट जाँदै थियो,गाइड नानीले देखाउँदै भनिन्–“ऊ त्यो पानीमा पौडी रहेका चखेवाका जोडी हुन् । यिनीहरू सँगसँगै बस्छन्, खेल्छन् । त्यो पल्लो पोखरी भरिका धनेस र सेता बकुल्लाजस्ता देखिने सबै जलचरहरू आफ्नो मौसम अनुकुल एक देशबाट अर्को देश घुमिरहने भएकाले यिनीहरूलाई पर्यटक चरा(त्यगचष्कत द्यष्चम) पनि भन्दछन् । यी चराहरूको सङ्ख्या कोशी टापुमा अधिकमात्रामा देखिन्छ । यिनीहरू यूरोपियन देशहरूबाट दक्षिण भारत हुँदै नेपालका विभिन्न ठाउँको छनोट गरी घुम्न आउँछन् । केही समय हाम्रो नेपालका यस्ता ठाउँहरूमा घुमेर फेरि आफ्नै देशतिरै फर्किन्छन् । यी मौसमी घुमन्ते चराहरू अन्यजातमा पनि पाइने रेकर्ड छ ।”

हाम्रो सफारी जीप जङ्गलको बीचमा एकछिन् विश्रामको लागि रोकेको थियो । त्यहाँको चिया पसलमा एकछिन् आराम गरेर फेरि सफारी सुरु गर्‍यौँ । अलि माथि पुगेपछि गाइड नानीले भनिन्–“अघि हाम्रो आवाज सुनेर भागेका रतुवाहरू यिनै हुन् ! यो कोमल, सोझो जनवार हो । यसलाई बाघभालुले सजिलै मारेर खाइदिन्छ । त्यसैले यिनीहरू आफ्नो समुदायमा बाँधिएर बस्छन् । जहाँसम्म अर्नाको कुरा सोध्नु भो ! यतातिर अर्ना भेटिएर रेकर्ड गरिएको छैन । अर्नाको रैथाने थलो माडीको जङ्गल रिऊ र राप्ती नदीको किनारलाई मानिन्छ । तिनीहरूको सङ्ख्या र प्रकृतिको बारेमा मलाई जानकारी छैन ।”

मैले ती नानीलाई प्रश्न गरे–“यो जङ्गलमा गिध्द पाइन्छन् कि पाइदैन ?” नानीले भनिन्–“पहिला भएको अभिलेख छ अरे । अहिले त खै ! गिध्दको यतातिर प्वाँख पनि छैन कि मेरो जानकारीमा छैन, भन्न सकिन । मैले बर्दिया राष्ट्रिय निकुञ्जतिर गिध्द पाइन्छ भन्ने सुनेकी छु । ऊ त्यहाँ गैँडाले गोब्य्राएको भर्खर आलै रहेछ । त्यतै कतै पसेको होला देखिएन । त्यो बाटो माथिको हात्तीसार हो । त्यहाँ हेर्नुस् ! लहरै हात्ती बाँधिएका छन् । त्यो पल्लो घरमा टहलुवाहरू बस्छन् । जङ्गली हात्तीले उपद्रो मच्चाएर दु:ख दिएका खण्डमा यिनै पाल्तु हात्तीद्वारा नियन्त्रण गर्ने गरिन्छ ।” ती गाइड गर्ने नानीले एक घण्टा चालिस मिनेट जङ्गल घुमाएर जङ्गल छेउको वन्यजन्तु सङ्ग्रहालयमा पुर्‍याइन् ।

वन्यजन्तु सङ्ग्रहालय :
सङ्ग्रहालयमा लोप भइसकेका जनावरहरूका अवशेष, हात्तीका मरेका बच्चा, गैँडाका तुहिएका बच्चा, मृत बाघ, गैँडा, मृग, घरियाल आदिका छालाहरू राखिएका थिए । विभिन्न किसिमका सर्पहरू र तिनका फूलहरू, हात्तीका दारा, हरिणका सिङ्, कछुवा, स्याल, वनबिराला, ब्वाँसा आदिका अवशेष, छाला, फुलहरू देख्न पाउनु पनि दुर्लभ दृश्य थियो ।

जङ्गलपदयात्रा :
जङ्गल सफारी र सङ्ग्रहालय घुमेपछि गाइड नानीले हामीलाई जङ्गलको बाहिरी भागमा पैदल यात्रामा लगिन् । आधा घण्टा जङ्गल पदयात्राको उपलब्धि खासै भएन । जङ्गलको छेवैछेउ झार बुट्यानहरूमा उल्लेखनीय जीवजन्तु पनि भेटिएनन् । अग्ला रुखमा केही लङ्गुर र बायाँपटिको खोलाको किनारभरि बालुवामा सुतेका साना ठूला गोहीका बथान देखिए । त्यतातिर पनि गैँडा छ भन्ने प्रमाणचाहिँ थियो, गैँडाको गोबर ! गैँडाले एक्कै ठाउँमा दिसा गर्छ अरे । ती नानीले भनिन्–“यहाँ भर्खर गोब्य्राएको आलो गोबर रहेछ ।” हाम्रो जङ्गल पदयात्रा पनि समाप्त भयो । हामीले गैँडा नदेखे पनि गैँडाको आलो गोबर हेरेर फर्कियौँ ।

प्रतिक्रिया दिनुहोस्