प्रशिक्षणको लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना संक्रमण
काठमाडौं साउन ३० ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।
तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।
नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।
मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । एन्फाले एक खेलाडीको पुन परीक्षण गर्नुपर्ने भनेको थियो ।