पत्रकारितामा धेरै स्वाभिमान बलरामहरुको खाँचो छ
एउटा पत्रकार निरन्तर रुपमा २५ वर्षदेखि समाचार संकलन (Reporting) मा छ । जसको इमानको बारेमा कसैले औला उठाउन सक्दैन । जसले कहिल्यै आफ्नो स्वार्थका लागि आफ्नो स्वाभिमान बेचेन । सधै लो स्टाटसमा बसेर निरन्तर सिंहदरबारका धेरै शक्तिवालाहरुविरुद्ध खबरदारी गरिरह्यो । लोभ लालचामा कहिल्यै फसेन । २५ वर्षसम्म निरन्तर समाचार संकलन गरेर हामी जस्ता धेरै संवाददाताहरुका लागि आदर्श पात्र बन्यो । जिउँदो छँदा मैले भनिरहने एउटा शब्द थियो, हामी संवाददाताहरुका लागि बलरामदाई आदर्श पात्र हुन् ।
पत्रकारितामा प्रवेश गरेर छोटो समयमै ठूलो पद हासिल गर्दै छोटो समयमै हराउनेहरुका लागि यस्तो निरन्तर संवाददाता बनेर समाचार खेती गर्ने पत्रकार पाउन मुश्किल छ । हामी पत्रकारिता गरिरहेका र पत्रकारिताका विद्यार्र्थीका लागि उनी खुल्ला किताब जस्तै थिएँ । लेखाईमा जति खुल्ला थियो, व्यक्तिगत जीवनमा पनि त्यही खुल्ला र सामान्यपन ।
उनी सिंहदरबारमा चप्पल पड्काउँदै पछाडीको खल्तीमा डायरी बोकेर दौडिरहेका हुन्थे । सिंहदरबारका सबैजसो कर्मचारीहरुले चिन्थे । हेर्दा हेर्दै सुब्बा, अधिकृत सचिव बने तर उनी संवाददाताकै रुपमा निरन्तर सिंहदरबार धाईरहेका हुन्थे । उनी समाचारमा धेरै विटका पत्रकारहरुलाई उछिन्थे । सिंहदरबारभित्र हुने चलखेलका भित्री कथाहरु ल्याउँथे । जतिनै आलोचना भएपनि खबरदारी गर्न छोड्दैनथे । जसको विरुद्ध पनि लेख्थे । सत्तामा कांग्रेस हुँदा कांग्रेसीले बलराम बिग्रिएछ, काग्रेसविरुद्ध लेख्छ भन्थे । कम्युनिष्ट सत्तामा हुँदा कांग्रेसी हो, हामीविरुद्ध लेखिरहन्छ भन्थे तर उनले शक्ति हुनेले दुरुपयोग र गलत गर्छ भनेर निरन्तर रुपमा लेखिरहन्थे । विधिको शासनमा चलेको छकि छैन भन्दा पनि बाह्य हल्लाको पछाडी बहकिनेहरुको लागि उनी सधै तारो बनिरहन्थे तर विकृतिविरुद्धको उनको कलम कहिल्यै रोकिदैन्थ्यो । पत्रकारितामार्फत मनग्य पैसा कमाउँछु भनेर लाग्नेहरुका लागि उनी परम शत्रु थिएँ ।
पछिल्लो १५ वर्षदेखि बलराम दाईसँग सामीप्यता रह्यो । अझ १० वर्षदेखि त बलियो घनिष्ठता । शान्तिनगर गेट, तीनकुटे हेभेनदेखि कोटेश्वर महादेवस्थान मुनि अनि मीनभवनको कलेज मुनिको बाग्मती किनाराको चिया सयौ चोटीका भेटहरु सम्झनामा ताजै छन् । समाचार लेखेपछि त्यसबारे खरो प्रतिकृया दिने र केही सूचना चाहिएमा ठूलो मान्छे नबनी सम्पर्क गर्ने उनको स्वभावहरु पनि सम्झनामा ताजै छन् । पैसामा बिक्यो र इमान्दारिता बेच्यो भने फेरि पत्रकारिता फर्केर आउँदैन र मर्दै जान्छ भन्ने उनको आदर्श वाणहरु अहिले पनि कानमा गुञ्जिरहेका छन् । यी गुञ्जनहरु पत्रकारिता जीवन रहेसम्म गुञ्जिरहनेछन् ।
आइतबार मात्र बलराम दाईले ४ बजेर ३३ मिनेटमा फोन गर्नुभएको थियो । दाई सेजनमा छु, अफिस गएर समाचार लेखेर त्यहाँ आउँदा सात बज्छ, आएर म फोन गर्छु भनेर भनेको थिएँ । पछि फोन गर्दा लागेन । भोलिपल्ट बिहान गरे, फोन लागेन । हिजो बिहान भाउजुले दाई हराएको भनेपछि त्यसै त्यसै बेचैन भएको थिएँ । धेरैलाई फोन गरेर पनि बुझ्ने काम भयो । त्यसपछि निरन्तर रुपमा भाउजुसँग बुझिरहेको थिएँ । बिहानसम्म पनि कुरा भईरहेको थियो तर एक्कासी दाईको लाश भेटिएको खबरले स्तब्ध छु ।
सायद २५ वर्षसम्म निरन्तर रुपमा संवाददाताको रुपमा विनां अहंमता र शालीनताका साथ काम गर्ने बलराम पाउन अबको पत्रकारितामा गाह्रो छ । अझ गाह्रो त, पत्रकारितामा इमान्दारिताको खडेरी भएको बेला विना लोभलालचा र भेदभाव स्वार्थरहित पत्रकारिता गर्ने स्वाभिमान बलराम पाउन गाह्रो छ । पत्रकारितामा धेरै स्वाभिमान बलरामहरुको खाँचो छ । हार्दिक श्रद्धाञ्जली बलराम दाईप्रति । खबर सुनेपछि बलराम दाईसँगका क्षणहरु सम्झिरहेको छु । आजसम्म स्वाभिमानता र इमान्दारितामा बलराम दाईको मार्ग पछ्याईरहेको छु । आगामी पत्रकारिताको यात्रा पनि विचलित हुँदैन । फेरि पनि हार्दिक श्रद्धा सुमन ।