लामो दुरीको यातायात र हवाई उडानमा भदौ १५ सम्म रोक लगाउने सरकारको निर्णय
काठमाडौं साउन २६ । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय पनि भएको छ ।