सीमामा प्रवेश रोक्न कांग्रेसको माग, कुनै पनि बिरामीलाई उपचारको ढोका बन्द नगर्न नेता महतको आग्रह
काठमाडौं साउन २६ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाइका साथ व्यवस्थापन गर्न, खाडी मुलुकहरुमा रोजगार गुमाई प्रवेशाज्ञा अवधि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा व्यस्थित रुपमा स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
समितिले सोमबार पत्रकार सम्मेलन गरी समुदायमा संक्रमण विस्तारसँगै ज्येष्ठ नागरिकहरु सङ्क्रमित हुँदा मृत्यु दर बढेको र बिरामीको सङ्ख्या पनि बढ्दो देखिएकाले तत्काल निजी अस्पताललाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन माग गरेको छ । आवश्यक सङ्ख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिंदो व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्न, बीमाको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न, भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी स्वास्थ्यकर्मीको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ ।
समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले क्वारेन्टिन केन्द्रहरुलाई मापदण्डअनुसार बनाउने व्यवस्था गर्न, कुनै पनि नागरिक कोभिड–१९ सम्बन्धी होस् वा अन्य बिरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु नहुनेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित सङ्क्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा व्यापक बनाउन सरकारसँग आग्रह गरिएको छ ।