काठमाडौं उपत्यकामा बुधबार १०२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,साउन २२ । काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या काठमाडौं उपत्यकाको अहिलेसम्मकै उच्च संख्या हो।
संक्रमितको संख्या ह्वात्तै वृद्धि भएसंगै अस्पतालमा शैय्या अभाव भएको छ। मंगलबार संक्रमण पुष्टि भएकालाई घरमै राख्नुपरेको थियो । त्यस्तै मंगलबार पुष्टि भएका कतिपयलाई बुधबार बिहान मात्रै कीर्तिपुरको आयुर्वेद अस्पताल र केएमसी अस्पताल दुवाकोटको आइसोलेसनमा राखिएको थियो ।
बुधबार उपत्यकामा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका धेरैजसो उपत्यका बाहिरबाट आएकाहरू भएको मन्त्रालयले जनाएको छ ।
बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये १६ जना सम्पर्क विहिन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका एक अधिकारीले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा आवस्यक बेड उपलब्ध नभएको,संक्रमित ब्यवस्थापनमा एम्बुलेन्स अभाव जस्ता चुनौती रहेकाले आगामी दिनमा संक्रमित उपचारका लागि थप समस्या आउन सक्ने बताइएको छ।