संस्मरण : व्यापार, माडी, शिवरात्री मेला र प्रेरणा
म करिब बाह्र वर्ष को थिएँ, बगहीमा शिवरात्रीको मेला लाग्न करिब ६ दिन जति बाँकी थियो, मनमनै यो मेलामा दोकान थाप्ने प्लान बन्यो । बजेआमा मेरो साथीजस्तो हुनुहुन्थ्यो त्यसैले सुनाएँ मेरो प्लान । बजेआमाको प्रश्न : किन दोकान थाप्ने ? घुमेर आए हुँदैन ? मैले फ्याट्ट उत्तर दिएँ, ‘बज्यामा तपाईंंले सधैँ २ रुपियाँ दिनुहुन्छ तर यो चोटी म कमाएर तपाईंलाई दिन्छु । बज्यामा निरुत्तरित ।
आमा दिनभरी खेतीपाती अनी रक्सी पार्ने गर्नुहुन्थ्यो अनी आमाले जर्किनमा रक्सी राखेर कृष्ण बाबु यो टमटा बजार दारिवाला साहुकोमा लैजा अनी अस्तिको ५ बोत्तलको २५ रुपियाँ पनि लिएर आइज है भन्ने । मैले आमाको एकाउन्टेन्ट अनी भरियाको काम पनि गर्थें । आमाको व्यापार राम्रै थियो, रक्सी पार्ने, कुखुरा पाल्ने गर्नुहुन्थ्यो, । त्यो आमाको पेवा अनी पैसाचाहि हरियोधरो अनी बकसमा राख्नुहुन्थ्यो । एउटा कापीमा सबै हिसाबकिताब, मलाई ठ्याक्कै थाहा हुन्थ्यो आमासँग कति छ अनी कोसँग कति लिनु छ ।
बज्यामासँग चाहीँ घरको मुख्य पैसाको हिसाबकिताब हुन्थ्यो । त्यसको पनि मलाई नै लेख्न लगाउनुहुन्थ्यो, मेरो बाजे लालकाजी गुरुङ एकदमै सोझो अनी जसको कुरा पनि पत्याउने । ऋण दिने, बाज्यापा धान बेचेको पैसा केही ब्याजमा अनी अरु बज्यामालाई राख्न दिनुहुन्थ्यो, बाज्यापा र बज्यामाको ठूलो खाट थियो अनी ठ्याक्कै सिरानीमुनि लकरजस्तै थियो । बज्यामाले सबै कुरा त्यही राख्नुहुन्थ्यो । चोलोभित्र चाबीको झुप्पा ।
मेरो बज्यामाको सबैभन्दा प्यारोचाहिँ कान्छा बाबा हुनुहुन्थ्यो । कारण कान्छा बा ढाक्रे रे, पारि भरतपुरमा थुप्रै जग्गा भए पनि माडीम़ा नै बसेकोमा बज्यामाको र बज्यापाको बेलाबेला झगडा पर्थ्यो तर बज्यापालाई खै किन हो माडी नै रमाइलो रे । अनी मैले पनि हो भन्थेँ ।
मेरो फुपू भरतपुरमा नै पढ्ने । उतै ठूलो फुपूको घर बस्ने गर्नुहुन्थ्यो, शिवरात्रीको मेलामा फुपू पनि घरमा नै बज्यामाले आमा र फुपूलाई मेरो प्लानबारेमा भन्नु भएछ, त्यस्पछि फुपूले भन्नुभो, ‘आलुको तरकारी म बनाइदिन्छु, जर्किनमा खानेपानी राख अनी डोकोमा स्टिलको गिलास, प्लेट, चम्चा हाल अनी भरे नाबिर्सी गनेर ल्याऊ है ।
ल अब दोकान थाप्ने भइयो, धेरै साथीलाई भनेको खासै कोहीले पनि त्यत्ति वास्ता नगरे जस्तो लग्यो, म मा चाहिँ खुसीले सीमा नै थिएन, पछि शिव पौडेल मेरो साथीले साथ दियो ।
बिहानै फुपूले पकाइदिनुभएको घरकै आलुको झोलवाला तरकारी डोकोमा राखेर लागियो शिवरात्री मेलामा । शिवरात्री मेला लाग्ने ठाउँ अहिलेको चर्चित ठाउँ कुसुम खोलाको छेउमा नै पर्छ । मेरो दोकान चाहिँ मेलाको बीचमा थियो । गाउँतिरको जो पनि आउने अनी हाँस्ने, ओइ के हो यो कृष्णले त दोकान थापेछ त । एक छिन त् लाज लाज पनि लाग्यो, १२, १ बज्यो कसैले पनि किनेर खाएको देखिएन, तरकारी बिक्री नभए त केही थिएन तर बज्यामासँग सापटी मागेर २ किलो चिउरा पनि किनेर ल्याएको तेस्को पो ठूलो पीर भयो ।
मेलामा भलिबल प्रतियोगिता ठूलो हुन्छ अनी हाम्रो गाउँको पनि दरो गेम हुने गर्थ्यो । सोचेँ गेम सकेपछि दाइहरु आउलान् नि !, बेला बेलामा उता उति यसो हेर्न पनि गएँ, करिब ३० वटा जति दोकानहरु थिए । धेरैजसो रक्सी अनी सेलरोटी, मेरोचाहिँ चिउरा र तरकारीमात्र ।
दुई बज्यो, ३ बज्यो समय पनि कत्ति लामो, बेकारम़ा दोकान थापिएछ जस्तो पनि लाग्यो, चिनेको मान्छेहरु छेउमा आउँदा पनि लाज लागेजस्तो लाग्यो, झन् स्कुलको केटी साथीहरु, चिनेको केटीहरुलाई टाढैबाट हेरेर हाँस्दा खिस्याएजस्तो पनि लाग्यो, मनमा के के, कस्तो कस्तो !
लगभग ४ बजे रत्ने र ३, ४ जना साथीहरु आएर ५ प्लेट तरकारी चिउरा अर्डर गरेपछि त एक छिन पछि त् अर्डरका अर्डर ५:३० मा त सबै सकिए ।
त्यससछि खल्ती भरी पैसा राखेर, डोकोमा सबै समान राखेर, छाती फुलाएर आनन्दित हुँदै मज्जाले मेला घुमेर रातिपख घर पुगेर फुपू र मैले पैसा गनियो।
आज यसो विचार, ध्यान गरी हेर्दा मेरो दिमागको भित्रि भागमा बिजिनेस गर्नुपर्छ भन्ने बीउ त्यति खेर रोपिएको रहेछ । मेरो बज्यामा, आमा अनी फुपू त असली गुरु पो हुनुहुँदो रहेछ
माडी जहाँ बचपनमा धेरै कुरा सिकियो, सपना बुनियो, भनिन्छ तपाईंको १२ वर्षसम्ममा देखेको, भोगेको, सुनेको अनी हेरेको अनुभव नै जीवनकालसम्म चक्रजस्तै घुमीरहन्छ, हो रहेछ।
आशा छ यो चोटीको शिवरात्री मेला भव्य होस्, स-सानो भाइबहिनीहरुले राम्रो कुरा सिकोस् अनी माडी साँच्चै स्वर्गजस्तै थियो भनेर भनोस् ।
मेरो स्वर्गीय बज्यामा अनी आमा र फुपूलाई सम्झँदै सेवा ढोग अनी माडीलाई नमन ।
जय माडी
(लेखक बेलायत निवासी हुन्)