नियात्रा : ‘मातृभूमिको परिवेशमा मेरो परिवार र म !’



– रामचन्द्र दाहाल

नाबालकहरूमा स्वभावैले बालहठ हुन्छ तर कतिपय : मानिसहरू परिपक्क भएर ठूलो ओहदामा विराजमान हुदाँ पनि आफ्नो बालहठ कायम राख्छन् । ईतिहासलाई साक्षी राखेर भन्नुपर्दा राजा रणबहादुर शााह, सुरेन्द्रविक्रम शााह र राजा राजेन्द्रकी रानी लक्ष्मीदेवी आदिलाई लिन सकिन्छ । आजको वर्तमान अवस्थामा पनि उच्च ओहदामा पुगेपछि पदीय आचरणमा बालहठ बर्करार देखिन्छ ।

हाम्रो नेपालको वर्तमान अवस्था हेर्दा हाम्रा बालहठी किशोरहरू दिन रातै विदेशको सपना देख्छन् । नेपाल सरकारले बाल्लिक भएको प्रमाण दिने बित्तिकै विदेश उड्ने बालहठ गर्छन् । यो देखासेखीले स्वदेश तुच्छ र विदेश स्वर्णिम र स्वर्ग देखेकाछन् । यसलाई सरुवा रोग नभनेर वटवृक्षझैँ झ्याँङ्गिएर गएको बालहठ भन्नु उचित हुनेछ । यस्तो बालहठले विदेश पुग्ने नेपाली विद्यार्थीहरू विदेशमा सङ्घर्षका भागदौड सहन गरेर जीवन यापन गर्न विवश छन् ।

यही विवशता अँगाल्न मेरी छोरी मिसुताले बालहठकै कारण उमेरले २० वर्ष लाग्दै गर्दा आफ्नो आमाको काख परित्याग गरेर २०७४ फागुन २३ गते अष्ट्रेलिया तर्फ पलायन भइन् । यस्तै लहैलहैले जेठी छोरी विद्वत्ता २२ वर्ष प्रवेश गर्दै गर्दा २०७५ असार १४ गते जापान तर्फ प्रस्थान गरिन् । आज दुवै छोरीहरू सङ्घर्षमय जीवन यापनका अनेकन व्यथा सुनाउँछन् ।

आफ्नो देशमा केही छैन, विदेशमा सबथोक छ भन्ने सोच राखेर स्वर्णिम सपना बोक्ने युवायुवतिले सङ्घर्षशील जीवनका जटिल अवस्थाको कथा मेरा छोरीद्वयले जस्तै अरुका अभिभावकले पनि अवश्यै सुन्नु भएकै होला तर पनि विदेशिने युवायुवतिको लाइन लामबद्ध देखिन्छ । यो परिस्थितिले हाम्रो गाँउउँघरमा मात्र नभई सम्पूर्ण देशको भविष्य माथि नै प्रश्न खडा गरेको छ । हाम्रो सरकारले नीतिपरिवर्तन गरेको देखिदैन । यसरी भविष्यका कर्णधार मानिएका होनहार नागरिक पलायनको परिसूचाङ्क उकालो लागिरहनु दु:खद परिदृश्य हो ।

यस्तै परिदृश्यको बीचमा कान्छी छोरी मिसुताले अष्ट्रेलियाबाट फोनमा भनिन् – ‘समर भ्याकेशन अन्तर्गत एक महिना कलेज विदा हुन्छ, त्यो विदामा मैले घर आउने सोच बनाएँ । त्यो बेला हामी कतै नेपालकै रमणीय स्थान तर्फ घुम्न जानुपर्छ । जाने ठाउँ छनोट गरेर राख्नु होला ।’

छोरी आउने खुशियालीमा मैले हुन्छ त भनँे तर मेरो मनमा कुरा खेल्न थाले । जाने कहाँ ? खर्च कति ? सवारीको व्यवस्था आदि । मलाई हलेसी वा मुक्तिनाथतर्फ जाने विचार थियो तर मेरो छोरो छविन र छोरी मिसुताले तनहँुको बन्दीपुर, पोखरा, पाल्पा, लुम्बिनी हँुदै नवलपरासीको शाश्वतधाम घुमेर चितवन सौराहाबाट काठ्माण्डौँ फर्किने योजना बनाएछन् । अन्तत: बालहठको आशङ्कामा छोराछोरीकै योजना अनुसार जाने तय गरियो ।

गाडीको व्यवस्थाका लागि सगरमाथा टुर्स एण्ड ट्राभल्समा काम गर्ने आफ्नै ठुली आमाको छोरा ईश्वर दाहाललाई भनेछन् । उनै ईश्वर दाहालले राम्रो गाडी र सीताराम थापा नाम गरेका कुशल चालक छनोट गरी पठाउने भएछन् । जाने अघिल्लो रात छोराछोरी र श्रीमतीद्वय सञ्जु र कमला सल्याङ्गबल्याङ्ग लाने सामान मिलाउनमा नै व्यस्त रहे ।

बन्दीपुर (तनहुँ) :

२०७६ माघ ६ गते बिहानै सीताराम ड्राईभरले स्कर्पीयो (५ जना सजिलै यात्रागर्न मिल्ने) गाडी लिएर हाजिर भए । पहिलो गन्तव्य तनहुँ बजारमा खाना खाएर घाँसी कुवालाई दायातर्फ पारी हल्का उकालो चढियो । घाँसी कुवा जाने बाटो लेखिएको साइन बोर्ड देख्दा कता कता मन त्यसै कुँडिए जस्तै भयो ।

हामी बन्दीपुर बसपार्कबाट सिधै थानीमाई मन्दिरतिर उक्लियौँ । थानीमाई हजारौँ सिँढी लगभग २ किलोमिटर उकालो उक्लेर जानुपर्ने पहाडको उच्च थुम्कोमा रहेछ । ड्राईभर सीताराम लगायत हामी ५ जना पहाडको थाप्लोमा पुगेर थानीमाईको दर्शन गर्न सफल भयौँ तर सञ्जु आधा बाटोबाटै फर्किन बाध्य भइन् । त्यो उचाइबाट देखिने हिमश्रृङ्खला र त्यहाँबाट बग्ने नदीहरूले हरिया फाँट र शहर बजारलाई परिक्रमा गरेर नागवेली भएर बगेको रमणीय दृश्य देखिन्छ । यस्तो दृश्य देखेर साँच्चै हाम्रो देश स्वर्गतुल्य छ भन्न मन लाग्यो । मेरा छोराछोरीको सायद यो पहिलो अनुभव होला, उनीहरू हिमाली परिदृश्यको फोटो खिच्नमा नै तल्लीन भए ।

त्यहाँ थुम्कामा सल्लाका रुखहरू झुरुम्म थिए । पाखो नाङ्गो थियो । पाखाभरि काला ढुङ्गाहरू प्राकृतिक रूपमै यत्रतत्र थिए । ती ढुङ्गाहरूमा अनेकन प्रकारका अचम्मलाग्दा बुट्टाहरू कुँदिएका देखिन्थे । हामीहरू हेर्दै छक्क पर्दै रेलिङ्ग समातेर तल बन्दीपुर बजारतर्फ ओरालो झर्‍यौँ ।

बन्दीपुर बजार, तनहुँ
बन्दीपुर बजार सुन्दर र सफा थियो । यहाँका भवनहरू काठका थाम र निदाल दलिन प्रयोग गरेर प्राचीन नेपाली शैलीमा निर्माण गरिएका थिए । अनेकन बुट्टा भरेर बनाएका सुन्दर टँुडाल जडित छाना बार्दलीहरूले हाम्रो मौलिकता झल्काएका थिए । ढुङ्गा छापेर बनाएको बजारको भित्री सडक आफैमा सफा र सुन्दर देखिन्थ्यो । सडकको दुवै किनारमा अनेक जात र रङ्गका फूल फुलेका देखिन्थे । बकम, बेलीका लहरे फूलहरू रङ्गीन गुच्छा भएर भवनका बार्दलीसम्म पुगी आकर्षणले मानिसको ध्यान तानेका थिए । बजारको मध्य भागमा बिन्दवासिनी, भीमसेन गणेश र हनुमानका मन्दिरहरू आफ्ना गजुरहरू टलक्क टल्काएर सुशोभित देखिन्थे । यस्ता प्राचीन मन्दिरहरूले नेपाली वास्तुकलाको परिचय दिएका थिए । बजार परिसरबाट लगभग १ किलोमिटर टाढा पर्ने तीनधरा नामले प्रख्यात धाराहरूमा निर्मल पानी कलकल बगेर गएको देख्यौँ । धारा वरिपरि हिलो र केही महिलाहरू स्नान गरेको देखेर हामी परैबाट फर्कियौँ । त्यो धारा परिसरमा रहेका चौतारा वरपीपलका रुखहरू रमणीय र हेर्न लायकका थिए ।

बन्दीपुर बजार, तनहुँ

तीनधारा चोकबाट १५ देखि २० मिनेट उकालो हिँडेपछि बजारको थाप्लोमा भेटिने बन्दीपुरे टुडीखेल आफैमा सुन्दर देखिन्थ्यो । सलक्क कपाल कोरेर चुल्ठो बाटे जस्तै उत्तर दक्षिण भएर लमतन्न सुतेको थियो । त्यहाँबाट देखिने सुन्दर पहाड र हिमश्रृङ्खलाहरू एक आपसमा चरणबध्द खप्टिएर नदीलाई काखमा च्यापे जस्तो देखिन्थ्यो । पहाडको उपल्लो भागमा सेतो हिउले भरिएका हिमाली परिदृश्यले मानिसको ध्यान उतै तानेको थियो । त्यो स्थलमा आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । यस्ता विदेशी पर्यटकहरू आफ्नो क्यामरामा यी दुर्लभ दृश्यहरू कैद गर्न तल्लीन देखिन्थे । टुडीखेलको प्रवेशद्वारमै अमिबा आकारको पोखरी थियो । पोखरीको बीच भागमा एउटा स्तम्भ खडा थियो । त्यस स्तम्भको टुप्पोमा बुट्टेदार तामाको गाग्रो अर्को आकर्षण थियो । त्यो संरचना पञ्चायतकालमा नै बनेको कथन सुनियो । वर्तमान अवस्थामा हेर्दा त्यो गाग्रो चराचुरुङ्गीले विस्ट्याएर, खिया लागेर उग्लिएको देखियो । पोखरी पनि पातपतिङ्गरहरूले भरिएर दुर्गन्धित थियो ।

हाम्रो गाडी बन्दीपुर प्रवेश गर्दैमा झ्याप्ले मुन्द«े भेटिएका थिए । सार्वजनिक स्थलमा गाडी रोक्न दिएका थिएनन् । उनीहरूको आदेशमै गाडी रोक्ने स्थानमा गाडी राखेर हामी घुम्न गएका थियौँ । गाडी झिक्न जाँदा घण्टाको रु ५० का दरले शुल्क तिरेर विना रसिद हिड्नु पर्‍यो । त्यहाँ धेरै अलमल गर्ने समय थिएन किनकि हामीलाई पोखरा पुग्नु पर्ने थियो । बजार बाहिर हल्का चिया खाजा खाएर सेडुल अनुसार पोखराको लागि प्रस्थान गर्‍यौँ ।

पोखरा :
हाम्रो सीताराम ड्राईभरले विस्तारै मोटरको गति बढाए । ८० को रफ्तारमा गाडी हुइँकिदै थियो । समय र गाडीको गति सँगसँगै कुदेर हामी अन्धकार तर्फ उन्मुख भयौँ । त्यो बाटोमा पर्ने न ठाउँ चिनियो न त कुनै ठाउँको नाम जानियो । परिदृश्यमा केवल अन्धकार नै अन्धकार देखियो । चालक सीतारामले जहाँ पुग्यौँ भने त्यो मात्र सुनियो ।

ड्राईभरले होटलहरूका केही नम्बरहरूमा वासका लागि पटक पटक फोन गरिरहे । यसरी तीव्र गतिमा चलिरहेको गाडी र फोनमा भएको सम्वादमा खतराको भय मिश्रित थियो । अन्तत: वाई. पि. तिमल्सिना (y.P.Timlisina) मोबाईल नम्बर ९८४६०६८२१९, ९८४६११७७३४ सम्पर्क भै Hotel Lakeway Inn मा बास पाउने निश्चित भयो ।

त्यो होटलका मालिक तिमल्सिना बाजे अति मिजासिला र फरासिला थिए । उनले आफ्नै भान्सामा पकाएको मिठो खाना पारिवारिक वातावरणमा खान दिए । पिउनलाई तातो पानीको व्यवस्था, वाईफाई, स्नान घरमा पनि तातो चिसो पानीको राम्रो व्यवस्थापन गरिदिए । हामीलाई त्यहाँ बस्दा होटलमा बसेको अनुभव नै भएन ।

माघ ७ गते पोखराको झिसमिसे बिहानीमा ठण्डी निक्कै थियो । श्रीमतीद्वय र छोरीहरूले नुहाएर तयार भएछन् । ड्राईभरले ‘आमाहरू सुतेको पल्लो कोठामा अघिदेखि नै हल्लाखल्ला छ, हामी पनि उठ्नुपर्छ अंकल’ भने । प्रत्येक कोठामा याटेज ट्वाइलेट बाथरुम भए पनि नित्यकर्मादि गर्न पालो कुर्नैपर्छ ।

होटलमालिक आफैले तातोपानीले भरिएको एउटा थर्मस टेबलमा राखिदिए । सबेरै तातोपानी खान पाएकोमा आत्माले उनलाई धन्यवाद भन्यो । हामी स्नान आदिबाट निबृत्त भएर ६ बजेको समयमा होटल बाहिर निस्कियाँै । सीतारामले ग्यारेजबाट गाडी निकाले । होटल मालिकले हिँड्ने बेलामा पनि आफन्तको बिदाई जस्तै सौहार्द्धताले लगेज गाडीमा पुर्‍याइदिए । यस्तो आतिथ्य सत्कार गर्ने स्वभाव भएका होटल Lakeway Inn का मालिक थ्।ए।त्ष्mष्किष्लब लाई धैरै धेरै धन्यवाद । फेरि कुनै समय पोखरा जाने मौका परेमा त्यही होटलमा बस्न मन छ । त्यो समयको वातवरण सितिमिति कपडा लगाएर थेगिनसक्नु थियो । हाम्रो पहिलो गन्तव्य नै फेवा ताल तर्फ भयो ।

फेवा ताल (ताल बराही):

ताल बराही दर्शनपछि हाम्रो परिवार

फेवाको किनार रङ्गीन बोट र सुरक्षा ज्याकेट लगाउने मानिसहरुले भरि भराउ थियो । फेवाको सयरगर्दै तालबराही दर्शन गर्न जाने र फर्किने यात्रुहरूले भरिपूर्ण ताल आफैमा रङ्गीन देखिन्थ्यो । कहिल्यै फेवा नदेखेका हामी जस्तै मानिसहरू फेवाको वरपर नियाल्दै थिए । माछापुच्छ«ेको परछायाँ पानीभित्र देखेर स्वर्गीय आनन्दको अनुभूतले फोटो खिच्न मस्त थिए । हाम्रो टोली पनि फेवा सयर गरेर ताल बराही पुग्न व्यग्र थियो तर त्यो लामो लाईनका भीडमा सुरक्षा ज्याकेट सजिलै लिनसक्ने सम्भावना थिएन । तालको चिसो हावाले ठण्डिएको वातावरण टिकिनसक्नु थियो ।

हाम्रा सीताराम काउन्टरनिर पुग्नै लाग्दा केही हुलहुज्जत भयो तर सीताराम काउन्टर नजिक पुगेर शुल्क बुझाउन सफल भए । सुन्तले रङ्गका ज्याकेट भिरेर हामी डुङ्गामा बस्यौँ । डुङ्गा पानीमा हेलिदै गयो । बाफ् रे…बाफ् !! पानी पानीको संसार ! – एउटी ठूली छोरी ज्वाईसँग सातसमुन्द्र पारी जापान भन्ने देशमा थिइन् । अरु सबै परिवार एउटै नाउमा । अलिकति तलमाथि भएमा, कुन ज्याकेटले बचाउला ? मेरा मनमा कुरा खेल्दै थिए । छोराछोरीहरू रमाएर फोटो खिच्दै थिए । माझी भाइले तालबराही मन्दिर परिक्रमा गराएर मन्दिरको द्वार अगाडि नाउ रोकेर ज्याकेट फुकाल्न भन्यो । म झसक्क झस्किएँ ।

बराही दर्शन हेतु पूजा सामग्रीसहित खाली खुट्टा माघको ठण्डीमा ढुङ्गामाथि लामबद्ध रहनु कम कष्टकरको बयान थिएन । मन्दिर र मन्दिर परिसर व्यवस्थित र सफा थियो । त्यत्रो जलसागरका बीचमा अवस्थित त्यो भूभाग र त्यसमा बनेका संरचना हेर्दा प्रश्नैप्रश्न खडा हुन्थे । यो तालको मध्यभागमा रहेको यो सानो टापु प्राकृतिक थियो कि ? मानव निर्मित थियो ? अनेकन जिज्ञासा उब्जिरहन्थे । त्यसको इतिहास वा अभिलेख के कस्तो होला जान्न मन लागिरह्यो तर समयको परिधिभित्र रहँदा त्यो सम्भव भएन । त्यसैले अपार जल किनार हेरेर एकछिन मन्दिर परिसरको छेकबारमै टोलाइरहँे म । समय तालिका अनुसार त्यहाँबाट सिधै बिन्दवासिनी भगवतीतर्फ लागियो ।

बिन्दवासिनी मन्दिर:
भगवती मन्दिरको हाता स्वच्छ र सफा थियो । काठमाडौँका मन्दिरहरूको तुलनामा पोखरा र त्यहाँ रहेका मठमन्दिरहरू सफा र हरियालीपूर्ण थिए । बिन्दवासिनी मन्दिर परिसरमा थुप्रै देवीदेवताका मन्दिरहरू व्यवस्थित थिए । त्यहाँका बिन्दवासिनी भगवती र शिव मन्दिर विशेष उल्लेखनीय थिए । शिवमन्दिरभित्र भजन, रुद्री र कुना कुनामा यज्ञादि कर्म वेदपाठ आदि हुदै थिए । राममन्दिरका राम, सीता, हनुमान र गणेशका भव्य मूर्ति आकर्षक थिए । बिन्दवासिनी भगवतीको दर्शनार्थ पुगेका हामीहरू मन्दिरकै अग्र भागमा लामबद्ध थियौँ । लामो प्रतीक्षापछि भगवतीको मूर्ति सन्मुख पुग्दा बोल्छिन् कि जस्तै महाशक्तिको अपूर्व दर्शन भयो । सुनौलो धातुले बनेको भगवतीमन्दिर हेर्दैमा आकर्षक थियो ।

बिन्दवासिनी मन्दिर परिसर

हामीलाई माघ ७ गते नै पोखराका उल्लेखनीय स्थलको अवलोकन गरेर त्यही दिन नै स्याङ्जा हुँदै पाल्पामा वास बस्न पुग्नु थियो । हामी बिन्दवासिनी मन्दिरबाट गुप्तेश्वर र डेविज फल्सतर्फ रवाना भयौँ ।

डेविजफल्स र गुप्तेश्वरगुफा :
पोखराको अर्को आकर्षणमा रहेको डेविजफल्स (पाताले छाँगो) जमीनको सतहबाट ३० मिटर तल झरेको रहेछ । स्विस् नागरिक डेविडको उक्त खोँचमा परी देहान्त हुनु अगाडि यस छाँगोको नाम पाताले छाँगो रहेछ । ती डेविडको दुखान्त दुर्गघट्ना पछि यो छाँगोको नाम उनका पिताको इच्छा अनुरूप डेविजफल्स नामकरण भएको बुझियो । त्यहाँ भारत तमिलनाडुतिरका र तेस्रो मुलुकका पर्यटकको निकै घुइँचो थियो । विदेशीहरू विभिन्न कोणमा पुगेर उक्त छाँगोको फोटो कैद गर्दै थिए । त्यसै बीचबाट हामीले पनि पाताले छाँगोको प्रकृति र त्यसका चरित्रको मनमनै चित्रण गर्‍यौँ । मेरा छोराछोरीले आफ्नो रुचि अनुसार फोटा खिचे । त्यो छाँगो त्यही कतैबाट निस्केर केही भाग बेजोडले झर्नाको आर्तनाद गर्दै थोरै तल पुगेर सुरुङ्भित्र पृथ्वीमै अलग भएको देखिन्छ । यस्तो देख्दा हामीलाई प्रकृतिले अद्भूत अलङ्गकार दिएको भान हुन्छ । हाम्रा यी अनमोल सम्पतिहरूको अवमूल्यन भएर पाताले छाँगो जस्तै देखिदै अलप हुदै गरेजस्तो लाग्यो ।

गुप्तेश्वरगुफा

डेविजफल्स परिसरमा रहेको पार्क र त्यहाँ फुलेका फूल, हिमाली दृश्य झल्किने मानवनिर्मित शिखरहरूले शोभायमान थियो । पार्कको एकापट्टि विभिन्न नेपाली मौलिकता बोेकेका जाति जनजातिका भेषभूषाको पहिरण्नमा रहेका केही डमीहरू विद्यमान थिए । त्यस्ता डमीहरूमा आफ्नो टाउको अड्याएर फोटो खिचाउनेको भीडभाड थियो । हामीले पनि त्यसै गरेर फर्कियौँ ।

डेविडफल्सबाट सडकपारि केही दुरी हिडेर बजार हुँदै हामी गुप्तेश्वर गुफाभित्र पस्यौँ । गुप्तेश्वर महादेव करिब १५०० मिटरभित्र सुरुङ्मा विराजमान भएको देख्दा अचम्म लाग्यो । त्यो सुरुङ्भित्र जान बत्ती, रेलिङ्, भर्‍याङ्का सहजता व्यवस्थित देख्दा व्यवस्थापन पक्षलाई धन्यवाद भन्न मन लाग्यो । सुरुङ्को अन्त्य अन्त्य भागतिर शिवको भव्य मूर्ति स्थापित थियो । त्यो विशाल पत्थरको मूर्तिमा पत्थरकै रुद्राक्ष धारण गरिएको थियो । यस्तो अचम्मको मूर्ति अकल्पनीय स्थानमा कैले ? कसले ? कसरी ? गएर बनायो ? त्यसको अभिलेखमा जेजस्तो लेखिएको भए तापनि स्वयम् महादेव उत्पन्न भएको भन्दा बरु सजिलो पर्ने देखिन्छ । नत्र प्रश्नैप्रश्नको मूर्ति र सुरुङ्भित्र पनि प्रश्नैप्रश्न थुप्रिएका थिए । मन्दिरको पृष्ठ भाग जलमग्न देखिन्थ्यो । टाढैबाट दर्शन गर्ने व्यवस्था रहेछ । टीका, फूल, भेटी चढाएर हामीले पनि टाढैबाट दर्शन गर्‍यौँ । थालीमा टीका, प्रसाद बाहिरै थियो । त्यो प्राकृतिक र्मूिर्तको दर्शन गरेर एकछिन् अचम्मित भएँ म ।

महादेव मन्दिरको दुवै किनाराबाट रेलिङ्को सहाराले केही पछाडिसम्म जान सकिने रहेछ । गुफाको त्यो अन्तिम भागमा पानीको ठुलो कुण्ड देखियो । माथिबाट सेतो झर्ना झरिरहेको थियो । त्यत्रो ठुलो झर्ना कतै बगेर गएको देखिएन । यसो विचार गर्दा त्यो अघि माथि हामीले देखेको पाताले छाँगो (डेविडफल्स) त यहाँ पो निस्केको रहेछ । अचम्म ! तर त्यहाँ पनि पानीको निकास देखिएन । अर्को अचम्म त हामी हिँडेर आएको सडक, बजार र ठुला ठुला भवनहरू त त्यही सुरुङ्माथि पो बनेका रहेछन् । कसरी अडिएको रहेछ त्यो पृथ्वी ? अचम्म अचम्मको छ हाम्रो भूगोल !

गुप्तेश्वर महादेवको दर्शन र डेविडफल्सको अवलोकनपछि नजिकैको पराजुली होटलको खाना र मीठो दही खाएर हामी महेन्द्र गुफातर्फ लाग्यौँ ।

महेन्द्रगुफा र चमेरेगुफा :
महेन्द्रगुफा करिब २०० मिटरभित्रको सुरुङ् रहेछ । पृथ्वीको निकैभित्र ओरालो झरेपछि शिव, गणेश, भगवतीका आकृति स्वरूप मूर्तिहरू भेटिए । हामी टर्चलाइटको सहायताले त्यहाँ पुग्दा एउटा गुरु चन्दन फूलपातीसहित बसेका थिए । उनी मानिसको उमेर, अनुहार हेरेर आशीर्वाद दिदारहेछन् । मेरो १९ वर्षको छोरालाई कपालमा हात राखेर भने–’बाबु ! तिमीले आफ्नो भविष्य आफैँ कोर्नु छ ! तिमी एक्लो छैनौ ! तिम्रो काँधमा तिमीमा आश्रित धेरै जिम्मेवारी वहन गर्नु छ ! तिम्रो घरपरिवार र सिङ्गो समाजलाई समयको गतिसँगै काँधमा बोकेर कर्तव्यपथमा अथक अगाडि बढिरहनु ! तिम्रो कल्याण होस् !’

हामीजस्तो उमेरका मानिसलाई ‘जीवनको उत्तराध्र्दमा प्रवेश गर्दै हुनुहुन्छ , भावी जीवन धर्मकर्ममा लगाएर निरोगी भई दीर्घ जीवन मिलोस् !’ आदि भन्दा रहेछन् । त्यो गुफाको सुरुङ्, ती गुरु बसेको भन्दा अगाडिसम्म कालो कालो अन्धकार देखिदै थियो । मानिस जान मिल्ने त्यहीँसम्म होला हामीहरू त्यहीँबाट फर्कियौँ ।

अर्को आकर्षणमा रहेको चमेरेगुफा जमीनको सतहबाट २०० मिटर भित्र रहेछ । महेन्द्र गुफाजस्तो जान सहज थिएन । अफ्ठ्यारा ठाउँमा राखिएका रेलिङ्हरू सबै अव्यवस्थित र जीर्ण भइसकेका थिए । करिब १०० मिटर जति भित्र गएर फर्किनु पर्‍यो । त्यसमा पनि टर्चलाइटको उज्यालो देखेपछि चमेराले आक्रमण गर्दारहेछन् । मेरा छोराछोरी, सीताराम र अन्य उमेरदारहरू साहस देखाएर पातलो सुरुङ्बाट निस्कन उत्सुक हुँदै त्यसतर्फ लागे तर ती सबैलाई त्यो पातलो चेपबाट निस्कन सकस भई तान्ने र घँच्याड्ने गर्नु पर्‍यो । तत्पश्चात त्यहाँबाट थोरै पर रहेको सेती खोचतर्फ लाग्यौँ ।

सेतीखोँच :
सशुल्क सेती ड्याम र खोँचमा पुग्दा १०० फिटभन्दा तल रहेको नागबेली सेतीको जलधार आश्चर्यजनक थियो । सेती ड्यामको पानीको प्रवाह पनि आँखै तिर्मिराउने गरी बगिरहेको थियो । यस्तो चट्टान काटेर यी सेती नदी किन भासिएकी होलिन् ? कहाँबाट निस्किएर कतातिर जान्छिन् यो रहस्यमय नै थियो । हामी जस्ता आन्तरिक र बाह्य पर्यटकहरू प्रकृतिको देन हेरेर छक्क पर्नु मात्र थियो ।

पोखराका यस्ता आश्चर्यजनक स्थलहरू एकदिन एकछिन् घुमेर सक्न सम्भव थिएन । एकदिन घुमेर पोखरा घुमिसकेर आएँ भन्न सकिने अवस्था पनि थिएन । हामी पोखराका केही उल्लेखनीय स्थलहरू घुमेर फर्किनु पर्ने भएकाले समय सीमाभित्र रहेर त्यही दिन अपराह्न त्यहाँबाट पाल्पा तानसेनतिर गयौँ ।

क्रमश :

प्रतिक्रिया दिनुहोस्