के पशुपतिमा भित्रिएला वर्षमा एक करोड धार्मिक पर्यटक ?



काठमाडौं साउन १२ । विश्वभरबाट वार्षिक एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ ।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ ।

विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गरेको पशुपति क्षेत्रको २६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा गुरुयोजनामा समेटिएको कोषले जनाएको छ ।

क्रिश्चियन धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

कोषका पूर्वसदस्य सचिव एवं गुरुयोजना विज्ञ चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनाको अवधारण र सिद्धान्त सञ्चालक परिषद्बाट पारित भएर संस्कृति मन्त्रालय पुगेसँगै कानून, अर्थलगायत सरोकार भएका मन्त्रालयको स्वीकृति लिई मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भएको जनाइएको छ ।

आगामी ५० वर्षसम्म पशुपति क्षेत्रमा आउने भक्तजनको अनुमान गरी पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना बनाइएको उनले बताए । कोषले गौशालाबाट रातोपुल हुँदै रुद्रमती किनारै किनार वा कोटेश्वरबाट जडीबुटी हुँदै गोठाटार, जोरपाटी हुँदै चक्रपथ घुमाउन पनि गुरुयोजनामार्फत माग गरेको छ । पशुपति क्षेत्रबाट जाने चक्रपथका कारण तिलगङ्गा पुलमुनिको बज्रेश्वरी मन्दिर जीर्ण बनेको छ । तान्त्रिकरुपमा ठूलो महत्वको मन्दिर भएपनि बज्रेश्वरीलाई चक्रपथले समस्यामा पारेको स्थानीयवासी बताउँछन् ।

हाल पशुपति आउने भक्तजन गुह्येश्वरी मन्दिरसमेत नजाने अवस्था छ । पशुपति क्षेत्रका विषयमा विस्तृत सूचनासमेत नभएर भक्तजनले यहाँका दर्शनीयस्थलमा पुग्न नसकेको निष्कर्ष निकाल्दै कोषले हाल महानगरीय प्रहरी वृत्त गौशाला रहेको स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गर्न प्रस्ताव गरेको छ ।

पशुपतिनाथ मन्दिर रहेको क्षेत्रलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गर्न पशुपति हिन्दू विश्वविद्यालय, पशुपति गौशाला, पशुपति अस्पताल, पशुपति वृद्धाश्रमजस्ता सामाजिक काम गर्ने संरचनालाई तीन किलोमिटर पर गोठाटारमा रहेको कोषको ५३४ रोपनी क्षेत्रफलमा स्थापना गर्ने सोच अघि सारिएको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्