अस्ट्रेलियामा कोरोना महामारीबाट एकैदिन ठूलो मानवीय क्षति



मेलबोर्न ,साउन ११ । कोरोना भाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरे पनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ । पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका दश जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो ।

अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार छ । तर अस्ट्रेलियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ । सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्